ओली–दाहाल बार्ता निस्कर्षोन्मूख, भोलि २२ मा एकताको मिति घोषणा हुने


लक्की चौधरी
काठमाडौं, वैशाख २१ गते । वाम दलमा आवद्ध दुई दलको एकीकरण प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ । दुई दलका अध्यक्षहरुबीचको वार्ता सकारात्मक ढङ्गले अघि बढेपछि सम्भवतः आउने शनिबार २२ गते पार्टी एकताको मिति घोषणा गर्ने तयारी गरिएको दुवै अध्यक्षका सचिवालयका सदस्यहरुको बुझाई छ ।

यसअघिसम्म दुई अध्यक्षबीचको वार्ता र संवाद परिणाम निकाल्नेगरी नभए पनि विहिबार दुई पटक भएको वान–टु–वान वार्ताले परिणाम निकाल्ने ठोस योजना बनाएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

“सहमति भएको विषय बताउन नमिले पनि सहमतिको आधार तयार भएको बुझिएको छ, सम्भवतः शनिबारसम्म दुवै अध्यक्षले संयुक्तरुपमा पार्टी एकता घोषणा गर्ने मितिसम्म सार्वजनिक गर्नुहुनेछ” सापकोटाले भने । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली चितवनको रामपुर कृषि विश्व विद्यालयको कार्यक्रममा भाग लिन जाने कार्यक्रम रहेकाले पर्सी शनिबार पुनः वार्ता बसेर घोषणाको खाका बन्नसक्ने संकेत मिलेको छ, उनले भने ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन अध्यक्ष प्रचण्डले २२ गते केही न केही सन्देश दिनेगरी दुई अध्यक्षबीच तयारी भइरहेको सार्वजनिक गरेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली २२ गते कैलाली भ्रमणवर्ष महोत्सवको उदघाटन गर्न कैलाली जाने कार्यक्रम तय भइसकेको थियो । तर अकस्मात विहिबार सो कार्यक्रम प्रधानमन्त्रीले रद्ध गरेका छन् । उनको कैलाली कार्यक्रम रद्ध हुनुमा २२ गतेको महत्वपूर्ण गृहकार्यका बारेमा बुझ्न सकिने सचिवालयका एक सदस्यले बताए ।

शनिबार मे ५ तारिख कार्ल माक्र्स जन्मेको दुई शतवार्षिकी परेकाले पनि सो दिन प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणाको महत्वपूर्ण तिथि सार्वजनिक गर्ने तयारी दुई अध्यक्षले गरेको कार्यदलका एक दस्यले बताए । त्यसको तयारी भइरहेको र घोषणाको ड्राफ्ट बनाउने काम पनि शुरुभएको नाम नबताउने शर्तमा ती सदस्यले भने । पार्टी एकता घोषणा भने केही समय लाग्ने उनको भनाई छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाकारण वैशाख मसान्तभित्रै पार्टी एकीकरणको घोषणा करिब टरेको बताउँदै ती सदस्यले जेठको कुनै अनुकुल मितिमा पार्टी एकता घोषणा हुने दावी गरे । भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले अनौपचारिक जानकारी गराइसकेको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यकाअनुसार दुई अध्यक्षबीच ठोस परिणाम निकाल्नेगरी वार्ता र संवाद भएको छ, तर अहिले नै ती विषय सार्वजनिक गर्न सकिने अवस्था छैन । वैशाख २२ गते प्रधानमन्त्रीको कैलाली जाने कार्यक्रम भने स्थगित गरिएको ती सदस्यले पुष्टि गरे । चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा प्रधानमन्त्री ओली शुक्रबार हेलीकप्टरमार्फत जानेछन् र शुक्रबार नै सोही हेलीकप्टरमार्फत काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

यसअघि दुई अध्यक्षबीच पार्टीको केन्द्रीय कार्यसमिति देखि कार्यदलबाट प्रस्तावित भएका १० वटा कमिटीमा प्रतिशतका हिसावले प्रतिनिधित्व सुनिश्चित गर्ने कि समान हैसियतले विवाद कायम थियो । तर त्यसमा दुवै दलको तर्फबाट करिब समान हिसावले प्रतिनिधित्व गराउने र दुई चारजना एमालेको बढी भएमा केही नविग्रने सहमतिमा दुई अध्यक्ष पुगेको सचिवालयका सदस्यहरुको भनाई छ ।

सचिवालयका एक सदस्यकाअनुसार जनयुद्ध शब्दलाई एमालेले विधानको प्रस्तावनामा व्याख्या सहित राख्न तयार भएको छ । त्यस्तै, माओवादी केन्द्रले पनि आगामी नयाँ पार्टीको चुनाव चिन्ह सूर्यलाई मान्न स्वीकार गरेको छ । कार्यदलले प्रस्ताव गरेको २९९ सदस्यीय केन्द्रीय कमिटीमा केही संख्या थप हुनसक्ने संकेत कार्यदलका एक सदस्यले गरे । तर सो विषय अध्यक्षहरुको सहमतिमा निर्भर हुने उनको भनाई छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विहिकार दिउँसो बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली कार्यक्रममा व्यस्त भएपछि प्रचण्डले उनलाई निकै बेरको पर्खाइपछि दुई अध्यक्षबीच छलफल भएको थियो । दिउँसो छोटो समयमात्र वार्ता गरेका दुई अध्यक्षबीचको वार्ता पुनः साँझ ४ बजेबाट शुरुभएको थियो । दुई पटकको गरी करिब दुई घण्टा भएको वार्ता निकै सकारात्मक बुझिएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया