सरकारलाई सुझाव दिंदा किन विझाउँछ सांसदहरुलाईः सांसद पार्वता चौधरी


काठमाडौैं, जेठ ११ गते । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्तापक्षलाई प्रतिपक्षीदलका सांसदले रचनात्मक सुझाव दिंदा विझाउने गरेको बताउनुभएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम २०७५ माथि छलफल भइरहेका बेला शुक्रबार संसद बैठकमा बोल्दै सांसद चौधरीले त्यस्तो बताउनुभयो । “हामी प्रतिपक्षीदलका सांसद हौं, सरकारलाई सुझाव दिनु हाम्रो कर्तव्य हो, सुझाव दिंदा सत्तापक्षी सांसदलाई किन बिझाउँछ, मैले बुझ्न सकिन” सांसद चौधरीले भन्नुभयो ।

सपना देख्नु राम्रो भएको तर त्यसलाई यथार्थमा प्रस्तुत गर्नु चुनौति रहेको बताउँदै उहाँले सरकारलाई काम गरेर देखाउन सुझाव दिनुभयो । “देश समृद्ध बनोस्, जनता सुखी हुन सबैको चाहना हो, स्पष्ट बहुमतको सरकार छ, काम गरेर देखावस हामी स्वागत गर्नेछौं” चौधरीले भन्नुभयो ।

प्रमुख प्रतिपक्षीले सरकारलाई सचेत गराउनु राम्रो कुरा भए पनि सत्तापक्षी सांसदले आपत्ति जनाउनु गलत भएको उहाँले चर्चा गर्नुभयो । दाङ निवासी सांसद चौधरीले दाङमा विमान सञ्चालनको माग पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया