
काठमाडौं, जेठ १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सन्तकुमार थारुले थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोग निःशुल्क उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्नेक्रममा सांसद थारुले सो आग्रह गर्दै सिकलसेलका विरामीको उपचार गर्न अलग्गै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सो रोग नियन्त्रणकालागि आउने बजेटमा पर्याप्त रकम विनियोजन गर्न सुझाव दिनुभयो ।
सोहीअनुसार जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेटमा मुक्त कमैया, कमलरी, हरुवाचरुवाको व्यवस्थापनकालागि पर्याप्त बजेटको विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । कमैया मुक्त भएको लामो समय भइसक्दासमेत सरकारको प्राथमिकतामा नपर्दा पुनस्र्थापनाको काम हुन नसकेको भन्दै थारुले सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
त्यस्तै, वर्दियाका विभिन्न गाउँमा थारु वस्तीहरु जंगली जनावरबाट प्रताडित हुनेगरेकाले जंगली जीव जनावरणको नियन्त्रणकालागि समेत आवश्यक बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम युवालाई उत्साहित गर्नेखालको रहेकाले आउने बजेट युवामैत्री हुनुपर्ने सांसद थारुले माग गर्नुभयो ।




