साझा अवधारणा बनाएर समस्या समाधानको पहल सरकारले गर्ने

भारतसँग कुटनीतिक वार्ता गरेर समस्याको निकासः कांग्रेस


Baluwatar

काठमाडौं, मंसिर ६ गते । देशको विद्यमान समस्या समाधानका लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग परामर्श गरी साझा सहमतिका आधारमा समाधान खोज्ने सहमति दलका नेताहरुबीच भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार रातीसम्म भएको प्रतिपक्षीदल नेपाली कांग्रेससहित सत्तापक्ष दलका नेताहरुको संयुक्त बैठकले त्यस्तो सहमति गरेको हो । अहिलेको समस्या कुनै दलविषेश, सरकारको मात्र समस्या नभई सिंगो राष्ट्रको साझा समस्या भएकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने सहमति बनेको बैठकमा सहभागी दलका नेताहरुले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विद्यमान समस्याप्रति आफू निकै गम्भीर बनेको र त्यसको समस्या समाधानका लागि बैठकमा सहभागी सबै दलका नेताहरुको प्रतिवद्धता माग गर्नुभएको थियो । बैठकमा सहभागी सबै दलका नेताहरुले साझा अवधारणा बनाएर अगाडि बढ्न सरकारलाई सुझाव दिएअनुसार नै प्रधानमन्त्रीले सबैसँग परामर्श गरेर साझा अवधारणाको प्रयास गर्ने हुनुभएको छ ।

आइतबारको बैठकलाई सर्वदलीय बैठक भनिएको भएपनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीदल कांग्रेसका नेताहरुको मात्र सहभागिता थियो । बाँकी दलका नेताहरुसँग प्रधानमन्त्री ओलीले सोमबार नै परामर्श र छलफल गरी साझा अवधारणाको पहल गर्ने हुनुभएको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिनुभयो ।

“देशको समसामयिक विषय र समस्याको समाधानका विषयमा केन्द्रीत भएर बैठकमा छलफल भयो, सबै विषयमा दलीय हिसावले साझा अवधारणा बनाउने विषयमा सहमति बनेको छ” भन्नुहुँदै उपप्रधानमन्त्री कमल थापाले भन्नुभयो, “यो समस्या कुनै पार्टीको, सत्तापक्ष र प्रतिपक्षदलको मात्र नभएर देशको साझा समस्या हो, त्यसैले दलहरुबीच साझा अवधारणा बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।”

पत्रकारसँग संक्षिप्त कुरागर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशको परिस्थिति, तराई मधेसमा भएको आन्दोलन, नाकाबन्दी र त्यसले उत्पन्न गरेको समस्याबारेमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । “देशको समस्या साझा समस्या हो, को सरकारमा छ, को प्रतिपक्षीमा छ, को सरकारमा छैन भनेर नहेरौं, सबै दल मिलेर एकतावद्ध भएर समस्याको समाधानका लागि साझा बटमलाईन बनाएर अगाडि बढौं भन्ने सहमति बनेको छ” उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले विद्यमान देशको संकट समाधानका विषयमा नेताहरुबीच गम्भीर छलफल भएको जानकारी दिनुभयो । देशको समस्या छिटो समाधानका लागि सबै दलका नेताहरु सबै गम्भीर रहेको भएपनि भारतसँग स्पष्ट ढंगले वार्ता र छलफल गर्नुपर्ने सुझाव आफूहरुले दिएको उहाँले बताउनुभयो ।

“कांग्रेसले अगाडि सारेको संविधान संशोधन प्रस्तावमा टेकेर अगाडि बढ्दा समस्या समाधान हुन्छ भन्ने सुझाव पार्टीको तर्फबाट हामीले दियौं, उहाँहरुले कांग्रेसको साथ समर्थन र सहयोग चाहियो भन्नुभएको छ” डा. महतले भन्नुभयो । “भारतसँग ट्रयाक वान र ट्रयाक टु विधि सबै अपनाउँ भनेर हामीले सरकारलाई सुझाव दियौं” महतले सञ्चारकर्मीसँग भन्नुभयो ।

राप्रपाका नेता पशुपति शमशेर जवराले मधेस आन्दोलनको मागलाई सम्बोधन र नाकाबन्दीबाट उत्पन्न संकट समाधानका विषयमा बैठक केन्द्रित भएपनि नेपाली कांग्रेसलाई साथ लिएरै अगाडि बढ्नुपर्ने सुझाव बैठकमा आएको बताउनुभयो । सरकारको मात्र समस्या भन्दा पनि देशको साझा समस्या भएकाले कांग्रेसले पनि प्रतिपक्षीभन्दा प्रमुख दलको जिम्मेवारी निर्वाह गर्नुपर्ने नेताहरुको सुझाव रहेको बताउनुभयो । “विद्यमान समस्याप्रति प्रधानमन्त्री ओली गम्भीर रहनुभएको छ, बैठकमा अरु दिनभन्दा उहाँको कुरा आज कट्टर ढंगले आयो” नेता जवराले भन्नुभयो ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका शीर्ष नेताहरु, सत्तापक्षीदलका शीर्ष नेता, उपप्रधानमन्त्री तथा अन्य मन्त्री र नेताहरुको सहभागिता थियो । सोमबारसम्म प्रधानमन्त्री ओलीले अर्को बैठक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलसहितको राख्ने र साझा अवधारणाका लागि ठोस पहल लिनुहुने नेताहरुले बताउनुभयो ।

बैठकमा विद्यमान समस्या समाधानसँगै अन्य विषयमा पनि नेताहरुबीच विचार साटासाट भएको बताउनुहुँदै बैठकमा सहभागी नेताहरुले मधेसकेन्द्रित दलका नेताहरुसँगको छलफल र त्यसको उपलब्धी, इन्धन अभाव र आपूर्ति व्यवस्था, पारवाहन समस्या र संविधान संशोधनको विषयमा समेत नेताहरुबीच विचारमन्थन भएको परराष्ट्रमन्त्री थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया