
लक्की चौधरी
काठमाडौं, जेठ २८ गते । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले आफूविरुद्ध अनावश्यक भ्रम फैलाएको भन्दै भ्रममा नपर्न भूतपूर्व सैनिकहरुमा आग्रह गर्नुभएको छ ।
सोमबार संस्थापक अध्यक्ष गुरुङले यहाँ पत्रकार सम्मेलन गर्दै सो आग्रह गर्नुभयो । आफूले घर परिवार त्यागेर २७ वर्षसम्म संघलाई बनाएको इतिहास समाप्त पार्ने षडयन्त्र भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले गोरखा समाधिको निर्माणमा आफूले निस्वार्थ भावनाकासाथ लागेको दावी गर्नुभयो ।
भूतपूर्व सैनिकहरु फुटेरभन्दा जुटेर नै बेलायती साम्राज्यवादको मुकाविला गर्न आवश्यक रहेको भन्दै उहाँले झिनामसिना विवादमा नअल्झिन संघका प्रतिनिधिहरुमा आग्रह गर्नुभयो । संघले ज्यान गुमाएकाहरुको स्मरणमा स्याङ्जाको साल्मेडाँडामा समाधि बनाइरहेको छ । जहाँ १९ जातजातिको बारेमा संक्षेपमा जानकारी राख्ने तयारी संघको छ ।
बेलायती सरकारले २८ दिनसम्म नेपालमा बसेमा खाईपाई आएको भत्ता काट्ने चेतावनी दिइरहेको विषयप्रति संस्थापक अध्यक्ष गुरुङले खेद व्यक्त गर्नुभयो ।
बेलायती सरकारले २८ दिनसम्म नेपालमा बसेमा खाईपाई आएको भत्ता काट्ने चेतावनी दिइरहेको विषयप्रति संस्थापक अध्यक्ष गुरुङले खेद व्यक्त गर्नुभयो । सो निर्णय भूतपूर्व सैनिकलाई मानसिक यातना दिनेगरी आएको उहाँले चर्चा गर्नुभयो ।
भूतपूर्व सैनिकहरु बेलायती शरणार्थी नभई कर्तव्य गरेर अधिकार मागिरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले बेलायती सरकारले आफूहरुमाथि शोषण गरिरहेको आरोप लगाउनुभयो । बेलायती सार्वभौमिकताकालागि ज्यानको बाजीलगाई गोर्खा सैनिकहरु लडेकाले भूतपूर्व सैनिकहरुमाथि भइरहेको अन्यायमा चुप लागेर बस्न नसकिने उहाँले बताउनुभयो ।
नेपाल आफूहरुको जन्मभूमि भएपनि कर्मभूमि बेलायत भएको र आफूहरुले गरेको योगदानको उच्च मूल्याङ्कन बेलायती सरकारले गर्नु अनिवार्य रहेको उहाँले तर्क गर्नुभयो । गेसोको अहिले कृष्णकुमार राई अध्यक्ष रहनुभएको छ । आफूहरुको आन्दोलनमा नेपाल सरकारले समेत पहल लिनुपर्ने उहाँले बताउनुभयो ।




