
म कहिलेकाही एक्लै घोत्लीदा मनमा तर्कना आउँछ, –थारु के हुन ? राष्ट्रियताको मामलामा अत्यन्त देशभक्त थारु जाति पराधिनको कल्पना गर्न सक्दैन । राष्ट्रियताको कट्टर मानिने अरु जाति विदेशीसँग आफ्नो कथित पदसँग सम्झौता गर्न उनीहरुको भक्त हुन तछाडमछाड गर्छन् । तर थारु समुदाय देशलाई माया गर्ने भएपनि देशभित्रै इतिहासविहिन र पहिचानविहिन भएको मलाई लाग्छ ।
थारुको चिनारी राजनीति होइन । राजनीतिले थारुको इतिहास र पहिचान होइन पद प्रतिष्ठा भजाउँछ । थारुको चिनारी के हो ? भन्ने आमदेशवासीले थाहा पाउनुपर्छ । आखिर थारु के हुन ? थारुको उत्पत्ति, वर्ण, समुदाय आदिबाटै थारु चिनाउनु पर्छ । थारु के आर्यन हुन ? शारीरिक वनौट अनुहारको बनौट, आर्यन संस्कृति वंश परम्पराबाट थारु आर्यन होइनन् भन्ने निचोड धेरै विद्वानहरुको छ । नेपालको जनसंख्याको उल्लेखनीय भाग छैठौ स्थानमा रहेका थारु समुदाय मंगोलियन समुदायको पनि मानिदैनन्, शारीरिक नाप, एन्थ्रोपोमेटिक समेतको आधारमा द्रविडियन र भारतीय प्रदेशको जाति भन्ने तर्कलाई डा. मजुमदारले खण्डन गर्छन् । बाबुराम आचार्यले थारुलाई मंगोलियन मानेका छन् । केही अनुसन्धानविदहरुले पहाडको मगर, खोंचको हायु, दनुवार र मधेशको थारु एउटै वर्ग समुदायको एउटै जाति हुन भन्ने तर्क उल्लेख गरेका छन् । वि.सं. ६५० मै, थारुको बसोबास रहेको राजा मानदेव प्रथमका पालाको शिलालेखले पुष्टी गर्छ । तर पनि अझै सर्वसम्वत वैज्ञानिक तर्कमा एकमत हुन सकेको छैन, थारु के हुन ? थारुको बारेमा खोज अनुसन्धान गर्ने, तर्क वितर्क गर्ने थारु विद्वानहरु र गैरथारु विद्वानहरु सबैजना थारु समुदायको धन्यवादका पात्र हुनुहुन्छ । तर अव धेरै अलमल नगरौ । आखिर थारु के हुन ? थारु न त पूर्ण आर्यन हुन, न त पुर्ण मंगोलियन । आर्यन र मंगोलियनका केही गुणहरु भएपनि आर्यन र मंगोलियनमा नभएका अरु धेरै विशिष्ठ गुणहरु थारु समुदायमा छ । त्यसकारण थारु आर्यन समुदायमा मिसिन सक्दैनन् नत मंगोलियन समुदायमा । थारुको आफ्नै समुदाय छ, त्यो हो– “थारु” । आर्यन, मंगोलियन समुदाय भनेझै थारुको समुदाय नै “थारु” हो ।
थारु न त पूर्ण आर्यन हुन, न त पुर्ण मंगोलियन । आर्यन र मंगोलियनका केही गुणहरु भएपनि आर्यन र मंगोलियनमा नभएका अरु धेरै विशिष्ठ गुणहरु थारु समुदायमा छ ।
केही विद्वानहरुले भगवान गौतमबुद्धका परिवार अर्थात शाक्यवंशी क्षेत्री मानेका छन् (फनि श्याम थारु, लोक संस्कृति र चाडपर्व, नेपाल प्रज्ञा प्रतिष्ठान) त्यसो भए थारु किन बौद्धमार्गी भएनन् त ? के थारु बौद्धमार्गि हुन ? आखिर थारु के हुन ? भन्ने प्रश्न उठ्छ । यस सन्दर्भमा शंकराचार्यले भन्नुहुन्छ – भारतबाट मुसलमानहरुले गैर मुसलमानहरुलाई मार्ने, कब्जा गर्नेक्रममा भागेर सुरक्षित हुन नेपाल पसेका हुन । केही काठमाण्डौं उपत्यकाभित्र पसे । उनीहरु शाक्यवंशकारुपले प्रसिद्ध भए । तराईका जंगल खोचमा बस्नेहरु थारु भए । उनीहरु हिन्दुकरण हुँदा पनि पुर्ण हिन्दुचाही होइनन् । किनकि हिन्दु देवी देवतालाई प्रकृति देवकोरुपमा मानेपनि हिन्दु विधिविधानलाई पूर्णरुपले थारु संस्कृतिमा अंगिकार गरिदैन । अरु हिन्दुहरुलेजस्तो वलीप्रथा, होमादी, चरु होमलगायतका विधि अवलम्बन गर्दैनन् । केवल व्रत तथा उपवासमा मात्र विश्वास गर्छन् । त्यसोभए थारु के हुन ? थारु बौद्ध तथा हिन्दु धर्ममा श्रद्धा गरेपनि श्रद्धापूर्वक व्यवहार गरेपनि थारु न त पुर्णबौद्ध धर्मालम्बी हुन नत हिन्दु धर्मालम्बी । बरु थारुको छुट्टै मौलिक धर्म छ, जो कसैसंग मिल्दैन । तर कसैलाई घृणा गर्दैन । आप्mनै रीति, परम्परा, विश्वास छ, जो खोला, वृक्ष, पहाड, सुर्य, पानी आदिलाई देवता भन्ने छुट्टै धर्म छ, त्यो हो थारु धर्म । अव थारु दिदि–वहिनी, दाजु–भाइले थारुको वैयक्तिक विवरण लेख्दा वा जनगणना गर्दा अर्को कुनै धर्म लेख्न लेखाउन जरुरी छैन । धर्म सोधेमा लेख्नुस “थारु” ।
थारु दिदि–वहिनी, दाजु–भाइले थारुको वैयक्तिक विवरण लेख्दा वा जनगणना गर्दा अर्को कुनै धर्म लेख्न लेखाउन जरुरी छैन । धर्म सोधेमा लेख्नुस “थारु” ।
क्षेत्रीय, जातिय समुदायको दृष्टीले हेर्ने हो भने थारु के हो ? थारु समुदाय न त मधेशी हो, मधेशमा वस्छ त्यसकारण मधेशी भन्ने हो भने ३०० बर्ष पहिलादेखी वस्ने पहाडे समुदायको मान्छे मधेशी किन भएनन् ? जातीय वर्णको दृष्टीकोणले हेर्ने हो भने थारु पहाडी पनि हो किनकी उसको वंश शाक्यखलक पहाडमा वस्छन् । थारु हिमाली पनि हो, उसका खलक मगरजाति हिमालमा पनि बस्छन् । थारु खोचेली हो, उसका खलक हायु, दनुवार आदि जातिकारुपमा खोचमा वस्छन् । थारु मधेशी पनि हो । किनकी उसको मुल पुर्खा नै तराइ आवाद गराउने हो । जब जातीय एकताको कुरा हुन्छ तव थारुको एउटै शरीर एउटै प्राण हुन्छ, त्यो हो थारु । यसमा न पहाडी, न हिमाली, न मधेशी केवल नेपाली । हिमाल, पहाड, तराई सबै थारुको वंश छन्, थारु जातिका उपजाती छन् । पहाडको विरोध गर्दा दाहिने हातको तिरस्कार, हिमालको विरोध गर्दा अर्को हातको पीडा । मधेश प्राण संचालक । मधेशको भुमि सन्तान नै थारु हुन । यदि कुनै थारुले सत्ता लोलुपताका कारण म यो क्षेत्रको, यो भुमिको, मलाई केवल यही ठाउँ चाहियो भन्छभने त्यो निहितस्वार्थमा लाग्यो । थारु के हुन ? थारु हिमाली, पहाडी, मधेशी अलग अलग होइन । सबै हो, समग्रमा थारु हो त्यसकारण नेपाली हो । नेपाली हो र त थारु हो । तपाई थारु समुदायका दिदी–बहिनी दाजु–भाइलाई क्षेत्रीयताको कुरा सोधेमा भनिदिनुस–म केवल थारु हुँ र नेपाली हुँ । थारुले कुनै क्षेत्रीयता अंगिकार गर्दैन । सबै क्षेत्रमा थारु छन्, कुन थारु प्यारो ? कुन हेला ?
नेपालमा राजनैतिक सिद्धान्तको बाढी लागेको छ । कोही समाजवादी, साम्यवादी, पँुजीवादी, पुरातनवादी, लोकतन्त्रवादी, प्रजातन्त्रवादी आदि रहेका छन् । तर थारु के हो ? यदि कुनै थारु साम्यवादी वन्छ, समाजवादी बन्छ या कुनै वादी वन्छ भने उसले थारु भएर पनि थारु संस्कृति बुभ्mदैन । थारुको सिद्धान्त बुझ्दैन । थारुको सिद्धान्त के ? थारुको आफ्नै सिद्धान्त छ । त्यो हो “थारु” । थारुहरु प्रकृतिवादी हुन थारुले धनि पुज्दैन, गरीवको उपेक्षा गर्दैन । धनिलाई गरीव बनाउदैन, गरीवलाई धनि वनाउछ तर कस्तो धनि ? मेहनतको धनि, परिश्रमको धनि जीविका चलाउन सक्ने सीपको धनि, मनको धनि, उदारताको धनि, भातृत्वको धनि, मातृत्वको धनि, गुणकारको धनि, इमानदारिताको धनि, न्यायिक विवेकको धनि, लगनशीलताको धनि, उपकारको धनि, दानको धनि, मानको धनि । विभेदको विरोधी सिद्धान्त हो, थारुको सिद्धान्त । थारुले विभेद गर्दैन । थारु समुदायमा लैङिक विभेद पनि अपवादमा मात्र सीमित छ । त्यो पनि अरु जातको संगतमा लागेर । थारुमा जातिय विभेद छैन । थारु माथिल्लो जातको तलको जातको, छुत अछुत मान्दैन । जव यी सवै कुराको पालना गर्छ थारुले, के त्यो थारु सिद्धान्त होइन ? थारुको यो सिद्धान्त नै विभिन्न वाद र पार्टीका नाराभन्दा उत्कृष्ट र जीवनउपयोगी सिद्धान्त हो । आफै यस्तो सिद्धान्तको धनि भएर अर्काको सिद्धान्तको अनुकरण र अनुयायी किन हुनुपर्यो ? थारु समुदाय वर्ग विहिनतामा विश्वास राख्दछ । धनि र गरीववीचको जीवनशैलीलाई व्यङ्ग गर्दै गरीवलाई प्रोत्साहन र उत्प्रेरणा दिनु थारु समुदायको सिद्धान्त हो ।
थारुको आफ्नै सिद्धान्त छ । त्यो हो “थारु” । थारुहरु प्रकृतिवादी हुन थारुले धनि पुज्दैन, गरीवको उपेक्षा गर्दैन ।
थारु समुदायको लोकलयको एउटा गीतले यस्तै संकेत गर्दछ ।
कोई चले हाथी घोडा पालकी लगाइके
कोई चले भुइयाँ भुईयाँ चुटकी बजाइके
राजा चले हाथी घोडा, पालकी लगाइके
जोगी चले चले भुइयाँ भुइयाँ चुटकी बजाइके
कोई खाये खौवा मिसरी दुध मिलाइके
कोइ खाये गेहुम सतुवा पनीया मिलाइके
राजा खाये खौवा मिसरी दुधवा मिलाइके
जोगी खाये गेहुम सतुवा पनीया मिलाइके
(गीत साभार ः फनि श्याम थारु, थारु लोक संस्कृति र चाडवाड नेपाल प्रज्ञा प्रतिष्ठान)
यसरी थारुको हरेक कुरामा आफ्नै मौलिकता रहेको छ । अव हाम्रा थारु दिदिवहिनी, दाजु भाइलाई कसैले तपाई कुन पार्टीको ? सोधेमा भन्नुस–म थारु पार्टीको । अनि तपाईको सिद्धान्त के हो ? सहज उत्तर दिनुस–थारु सिद्धान्त । अव तपाईले पनि थाहा पाउनु भयो त ? थारु के हुन ?
(लेखिका कानून व्यवसायी हुन् ।)



