नयाँ संविधानले कसैप्रति भेदभाव गरेको छैनः प्रधानमन्त्री ओली


NGO federation

काठमाडौं, मंसिर ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानले कुनै समुदायलाई भेदभाव नगरेको तर संविधानबारे गलत प्रचारले समस्या निम्त्याएको बताउनुभएको छ ।
गैरसरकारी संस्था महासंघ नेपालको आठौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको सोमबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “यो संविधानले सबैलाई सम्मान गरेको छ, केहीले संविधानबारे नकारात्मक प्रचार गरेका छन्” भन्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “संविधानको गलत व्याख्या गर्दै जाती र भूगोलको नाममा कलह र विद्वेष फैलाएर जनताबीच फाटो ल्याउने प्रयास गरिएको छ, यो गम्भीर चिन्ताको विषय हो ।”
विरामी बोकेको एम्बुलेन्समा आगो लगाउने, औषधिजन्य सामग्री बोकेका गाडी तोडफोड तथा आगजनी गर्ने क्रियाकलाप देश र जनताको हितमा नरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले “आन्दोलनले देश वर्वादितिर गैरहेको छ, यसलाई सबै मिलेर सही ठाउँमा ल्याउनुपर्छ” भन्नुभयो ।
तराई मधेसको समस्यया समाधानका लागि सरकारले वार्ता प्रक्रिया जारी राखेकाले चाँडै समस्या समाधान हुने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले अस्पताल, शैक्षिकक्षेत्र बन्द गरेर नागरिकलाई दुःख नदिन आन्दोलनरत पक्षसँग आग्रह गर्नुभयो । जनताले भोगेको समस्याप्रति आफू गम्भीर रहेको बताउनुहुँदै उहाँले सबै पक्षसँग छलफल र संवादको माध्यमबाट समस्या समाधान गरिने बताउनुभयो ।
नेपाल आफ्नो आन्तरिक समस्या समाधान गर्न सक्षम रहेकाले छिमेकीलाई अन्य विषयमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । आन्दोलनले मुलुकको अर्थतन्त्र तहसनहस भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै इन्धनप्रतिको परनिर्भरता घटाउन विद्युतीय सवारीसाधनको प्रयोगमा सरकारले जोड दिने प्रष्ट पार्नुभयो ।
महासंघकी अध्यक्ष सर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य विजय सुब्बा, नागरिक अगुवा तथा अधिकारकर्मी गौरी प्रधान, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, दुर्गा घिमिरे, प्रदीप पोखरेल, शान्तलाल मुल्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, एमाओवादीकी सत्या पहाडी लगायतले नाकाबन्दीका कारण नागरिकले खेप्नुपरेको पीडाका विषयमा धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया