
काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले भेट गर्नुभएको छ । भेटकाक्रममा नेताहरुले संविधान संशोधनको विषय, तराई मधेस र थरुहटको माग सम्बोधनका विषयमा जिज्ञासा राखेका थिए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले तराईको समग्र विकासको वृहत योजना बनाउन प्रस्ताव गर्नुभएको थियो । राजपाका नेताहरुसँग विहिबार साँझ बालुवटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नुभएको हो ।
तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री ओलीले “तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने” बताउनुभएको छ ।
सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै समस्या समाधानका लागि राजन्ीतिकरुपमा योजना बनाऔं र कार्यन्वयन गरौं ।” अघिल्लो सरकारकाबेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराउनुभएको छ ।
राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनु भएको छ । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका कतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिनुभएको छ । “हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुनःविचार गर्नुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
संविधान संसोधनबारेमा नेताहरुले राखेका जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौं ।”
राजपाका नेताहरुले तराइको बाढी, दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्दा, तराइको विकास, मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान संशोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो ।
छलफलका लागि नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादब र केशव झा बालुवटार पुग्नुभएको थियो । साँझ ८ बजेदेखि भएको प्रधानमन्त्रीसँगको छलफल करिब डेढ घण्टा चलेको थियो ।




