संविधानको कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय होः सभामुख महरा


काठमाडौं, साउन ४ गते । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित ‘संविधान कार्यान्वयन, संघ र प्रदेश बीचको अन्तरसम्बन्ध र दीगो विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख महराले त्यस्तो बताउनुभयो ।

‘संविधान कार्यान्वयनका लागि संघीय संसदले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व छ, उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि अहिले केही कानूनहरु बनिरहेका छन् । म आशा गर्छु, सरकारले छिटोभन्दा छिटो अरु विधेयकहरु पनि ल्याउनेछ ।”

संविधान कार्यान्वयनको पहिलो कदमका रुपमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै सभामुख महराले निर्वाचनपछि तीनवटै तहमा सरकार निर्माण गरी संघीय शासन प्रणालीको अभ्यास गरिरहेको बताउनुभयो ।

प्रदेश र स्थानीय सरकार सञ्चालन र संघको समन्वयकारी भूमिका शुरु भइसकेको भन्दै सभामुख महराले संविधान कार्यान्वयनको ठोस कामहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य लिएको बताउँदै सभामुख महराले उक्त लक्ष्य हासिल गर्न सरकारले व्यक्त गरेका प्रतिबद्धतामा सांसदहरुको भूमिकाका बारेमा पनि छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया