समावेशी सञ्चार विकास प्रतिष्ठान गठनको माग गर्दै फोनिज भेला सम्पन्न


हेटौँडा, साउन ५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को दुईदिने भेला सातबुँदे हेटौँडा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  भेलाले आदिवासी जनजाति मातृभाषामा प्रकाशित पत्रपत्रिका र प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार सम्पन्न भेलाले आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी आदि समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिकालागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न भेलाले आग्रह गरेको छ ।

प्रदेश सञ्चार कानून तथा नीति समावेशी र आमसञ्चारको प्रवद्र्धन र श्रमजीवी पत्रकारहरुको हितमा निर्माण गर्न प्रदेश सरकारसँग माग गरेको छ । यसैबीच, बाग्लुङ्गमा जीप दुर्घटनामा गम्भीर घाइते भएका फोनिजका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको उपचारका लागि संकलित रकम फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङलाई हस्तान्तरण गरिएको छ ।

संकलित २३ हजार पाँचसय रुपियाँ फोनिजका प्रदेश ईन्चार्ज समीर बलामीले हस्तान्तरण गर्नुभयो । यसअिघ फोनिज प्रदेश ३ ले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई शुक्रबार १७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।

तपाईको प्रतिक्रिया