
काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिनदेखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेको बताउनुभयो । “हामी हनिमुन मनाउन आएका होइनौं । कामगर्न आएका हौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार गठन भएका दिनदेखि अपदस्थ गर्छौं भन्नेहरुलाई थाहा हुनुप¥यो चुनावबाट मात्र अपदस्थ गर्न सकिन्छ । जसरी हामीले काँग्रेसलाई अपदस्थ ग¥यौं ।”
प्रधानमन्त्री ओलीले कम्यूनिष्टहरुको सरकार आएको मन नपराउनेहरु अहिले विभिन्न नाममा आन्दोलनमा लागेको बताउनु भएको छ । “उनीहरुलाई खटपट भएको छ, जसले प्रचण्डको टाउको ल्याउनेलाई ५० लाख दिन्छौं भनेका थिए ।
उही व्यक्ति शासनमा छ अहिले । जो मलाई जेलमा षडाउन खोजेका थिए उही व्यक्ति प्रधानमन्त्री छु अहिले” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो षडयन्त्र हुन्छ भन्ने कुरा हामीलाई पहिल्यै थाहा थियो । त्यसकारण यस्ता षडयन्त्रबाट डराउनु पर्ने केही छैन ।”
प्रधानमन्त्री ओलीले काँँग्रेसलाई प्रश्न गर्नुभएको छ “काँग्रेस लोकतान्त्रिक पार्टी हो कि होइन ? कतिपय ठाउँमा बस्त्र उतारेर बोलेको छ । कतिपय ठाउँमा बुर्का ओढेर बोलेको छ । ” नेपालमा अब लोकतन्त्रको नेतृत्व नेपाल कम्यूष्टि पार्टीले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सेतो एप्रोन लगाएर एउटा पार्टीको कार्यकर्ता हुन नमिल्ने बताउनुभएको छ । “बिरामीको उपचार गर्ने जागिर खाएर हड्ताल गर्ने ?” उहाँले भन्नुभयो “डाक्टरको जागिर खाएर हड्ताल गर्न पाइदैन भनेर सबैले बुझ्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले मन्त्रीहरुका अनुपयुक्त बोलीमा आफ्नो ध्यान भएको बताउनुभएको छ । त्यस्ता कुराहरुलाई विधिसम्मत ढंगले सम्बोधन हुने उहाँले बताउनुभयो ।
सरकारका बारेमा सञ्चार माध्यमहरुलाई गलत सुचना प्राप्त भएको हुनसक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारले राम्रा काम गरेको छ । रेल ल्याउने कुरा गरेको छ । मेलम्चीको पानी चाँडै काठमाडौं आउदैछ” प्रधानमन्त्री ओलीले भन्ुनभयो “अघिल्लो सरकारले धेरै वेथिती छोडेर गएकोले त्यसको सुधारका लागि केही समय लाग्छ । यो स्थायी सरकार हो । पाँच महिनामा नै आतिनु पर्ने केही छैन ।” सुशासन र विकास हुन नदिने प्रयासलाई सफल हुन नदिने भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा आफू गम्भिर भएको बताउनुभएको छ ।
सो अवसरमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान स्थायी सरकारलाई काम गर्नबाट रोक्न प्रतिक्रियावादीहरुले पुरै शक्ति लगाएर अवरोध गर्ने प्रयास गरेकाले पत्रकारलाई त्यसमा सचेत हुन आग्रह गर्नुभयो । अहिलेको लडाई कलमको लडाई हो, पत्रकारले कलमकै माध्यमबाट अतिवादीहरुलाई पराष्ट गर्नुपर्छ उहाँले भन्नुभयो । सरकार र नेकपाको नेतृत्व विरुद्ध प्रतिपक्षीले भयानक षडयन्त्र रचिरहेको बताउँदै उहाँले सरकारको कामप्रति कसैलाई भ्रममा नपर्न आग्रह गर्नुभयो ।




