तीनपाङ्ग्रे व्यावसायीको प्रदर्शनले चित्तवनमा तनाव, प्रहरीले गोली चलायो


चितवन, साउन ९ गते । तीनपाङ्ग्रे सवारी साधनका ब्यावसायीले गरेको आन्दोलन हिंसात्मकरुप लिएपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । एकजना घाइते भएका छन् । भरतपुर महानगरभित्रको मुख्य राजमार्गमा तीनपाङ्ग्रे सवारीसाधन चलाउनमा रोक लगाइएपछि व्यावसायीले बुधबार प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एउटा मोटरसाइकल जलाएका छन् ।

ना १६ प ९४०७ नं को निजि मोटरसाइकलमा प्रदर्शनकारीले आगजनी गरेका थिए । सवारीसाधनमा आगजनी गरेपछि तत्काल नजिकै रहेको प्रहरीबिट जलाउने प्रयास गरेपछि भिड नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभु ढकालका अनुसार प्रदर्शन हिंसात्मक हुँदै अगाडि बढेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गरेको थियो । गोली लागेर अटोरिक्सा चालक महेन्द्र सुनार घाइते भएका छन् । खुट्टामा गोली लागेको सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारी र प्रहरीवीचको झडपमा केही प्रदर्शनकारी समेत घाइते भएका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर पाँचजना प्रहरी जवान घाइते भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । प्रहरीजवान हर्कबहादुर दराई, नेत्र बुढाथोकी, केशव पाण्डे, सुरज विक र गोपाल पाठक घाइते भएको र उहाँहरुको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको ढकालले बताउनुभयो ।

प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे सवारीचालक र व्यावसायीले मोटरसाइकल आगजनी गर्नुकासाथै दर्जनौ अन्य सवारी साधनमा तोडफोड गरेका छन् । भीड नियन्त्रण गर्न प्रहरीले करिब सय राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे सवारीचालक र व्यावसायीले मोटरसाइकल आगजनी गर्नुकासाथै दर्जनौ अन्य सवारी साधनमा तोडफोड गरेका छन् । भीड नियन्त्रण गर्न प्रहरीले करिब सय राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताएको छ ।

चितवनका प्रहरी प्रवक्ता ढकालले भन्नुभयो, “आन्दोलनकारीले प्रहरीचौकिमाथि आक्रमण गरी जिल्ला प्रशासन कार्यालयमा समेत आक्रमण गर्न थालेपछि प्रहरीले फायरिङ गरेको हो ।” प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको थियो ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको थियो । तीनपाङ्ग्रे व्यावसायीले विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले मंगलवारदेखि भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया