थारु कल्याणकारिणीसभाको केन्द्रीय महाधिवेशन गर्न चितवन शाखा तयार


कारी महतो
भरतपुर, साउन ११ गते । थारु कल्याणकारिणी सभा (थाकस) को २४ औं महाधिवेशनका लागि चितवन जिल्ला समिति तयार रहेको कुरा जिल्ला सभापति ललितकुमार चौधरीले बताउनुभएको छ ।

महाधिवेशन सम्पन्न गर्न केन्द्रिय समितिले व्यवस्थित योजना ल्याउनुपर्ने बताइरहेका बेला चित्तवन सभापतिको यस्तो भनाई आएको हो । महाधिवेशनमा आम्दानी र खर्च कति कति हुने, प्रतिनिधि तथा पर्यवेक्षक कति जना हुने, अन्य सहभागी कति जना हुने लगायतको महाधिवेशन सम्पन्न गर्ने विधि र प्रक्रिया योजनाबद्ध हुनुपर्ने जिल्ला सभापतिले बताउनुभयो ।

थाकसका केन्द्रिय संरक्षक अमृतप्रसाद खाँ थारुको नेतृत्वमा मकवानपुरदेखि कञ्चनपुरसम्मको जिल्ला भ्रमणमा निस्केका टोलीसँग अन्तरक्रिया गर्दै सभापति चौधरीले सो कुरा बताउनुभएको थियो । थाकसलाई विभिन्न जिल्लाका थारु व्यक्तित्वहरुले जग्गादान गरेको भएपनि ती अचल सम्पत्तीको संरक्षणमा थाकस नलागेको खाँको गुनासो छ ।

संरक्षणका अभावमा ती जग्गाहरुमा अन्य समुदायले भवनहरु बनाएको तर थाकस पदाधिकारीहरु अझ अनभिज्ञ रहेको उहाँले बताउनुभयो । पूर्वका जिल्लाहरुका जग्गा लगायत अचल सम्पत्तिहरुको सूची बनाएको अन्य जिल्लाहरुको अचल सम्पत्तिहरु बारे जानकारी लिनका लागि मकवानपुरदेखि कञ्चनपुरसम्मको जिल्ला भ्रमणमा टोली निस्केको संरक्षक खाँ थारुले बताउनुभयो ।

थाकसका केन्द्रिय सल्लाहकार समेत रहेका पूर्व सभासद रुक्मिणी चौधरीले अन्य जिल्लाको तुलनामा चितवन जिल्लाको साँगठनिक संरचना व्यवस्थित भएको बताउनुभयो । जिल्ला समितिले विभिन्न १३ वटा विभागहरु गठन गरेको साप्ताहिक रुपमा विभागीय बैठकहरु राख्ने गरेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।

केन्द्रिय समितिले थाकसको महाधिवेशन आगामी असोज ६ देखि ८ गतेसम्म गर्ने निर्णय गरेको छ । तर कुन जिल्लामा महाधिवेशन गर्ने भनेर स्थान तोकेका छैन ।

थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानूनलाल चौधरीले थाकसको केन्द्रिय महाधिवेशन हुनुभन्दा अगावै थारु युवा सभाको महाधिवेशन गर्न विभिन्न जिल्लामा सांगठनिक संरचना गठन तथा पुनर्गठनको तयारी गरिएको बताउनुभयो । त्यसै तयारीकालागि आफू जिल्ला दौडाहा निस्केको उहाँले बताउनुभयो ।

थाकस चितवनका निवर्तमान सभापति विश्राम महतोले पनि केन्द्रीय समितिले चितवन जिल्ला समितिलाई जिम्मेवारी दिएमा महाधिवेशनका लागि आयोजक जिल्ला रहेर जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउनुभयो । थाकसको विधान समयानुकूल संशोधन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
महाधिवेशन आउन दुई महिना मात्र बाँकी हुँदा पनि केन्द्रले स्थान तोक्न नसकेकोले महाधिवेशन व्यवस्थित हुनेमा सबैले शंका गरेका छन् । केन्द्रिय समितिले थाकसको महाधिवेशन आगामी असोज ६ देखि ८ गतेसम्म गर्ने निर्णय गरेको छ । तर कुन जिल्लामा महाधिवेशन गर्ने भनेर स्थान तोकेका छैन ।

तपाईको प्रतिक्रिया