थारु कल्याणकारिणी सभाको २२ औं महाधिवेशन काठमाडौंमा हुने


काठमाडौं, साउन १३ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारीणी सभा (थाकस) ले आफ्नो आगामी २२ औं महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सञ्चालन समितिको बैठकले अध्यक्ष धनिराम चौधरीको आग्रहअनुसार काठमाडौंमा नै महाधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । थाकसको महाधिवेशन आगामी असोज ६ ,७ र ८ गते गर्ने यसअघि नै निर्णय गरेको थियो ।

यसअघि थाकसले कैलाली, बर्दिया, दाङ, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, उदयपुर, सुनसरी, मोरङ, झापा, लगायतको जिल्लाहरुमा महाधिवेशन सम्पन्न गरिसकेको छ । आगामी महाधिवेशन चितवन वा कैलालीमा गर्ने प्रस्ताव पदाधिकारीहरुको थियो । तर अध्यक्षको आग्रहपछि काठमाडौंमा नै गर्ने निर्णयमा पुगेको बताएको छ ।

बिक्रम सम्बत २००५ सालमा स्थापित सभाको नेतृत्व समयसान्दर्भिक हुन नसक्दा काम चुस्त हुन नसकेको धेरै थारुहरुको गुनासो छ । आगामी महाधिवेशनबाट पुनः धनीराम चौधरीले अध्यक्ष पाउनुपर्ने माग दावी गरेको एक पदाधिकारीले बताउनुभयो । अध्यक्षको प्रत्यासीमा अहिलेसम्म अन्य कसैको खुलेर माग आएको छैन ।

महाधिवेशनकालागि जिल्ला शाखाहरुले भदौ १५ भित्र जिल्ला अधिवेसन सम्पन्न गरी भदौ मसान्तसम्म महाधिवेशन प्रतिनिधिहरुको नाम केन्द्रमा पठाईसक्नुपर्ने सर्कुलर भएको उपाध्यक्ष चौधरीले बताउनुभयो । उहाँकाअनुसार आगामी महाधिवेशनमा करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान सभाले गरेको छ । महाधिवेशन तयारी युद्धस्तरमा शुरुभएको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया