थारु कल्याणकारिणी सभा चितवनले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


कारी महतो
भरतपुर, साउन १५ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले विभिन्न माग राखी चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा शान्तिपूर्ण थरुहट आन्दोलनको क्रममा ०७२ भाद्र ७ गतेका दिन भएको टीकापुर घटना एउटा रहस्यमय राजनैतिक घटना भएकोले त्यसलाई राजनैतिक सहमतिबाटै समाधान गरी थाकसका केन्द्रिय अध्यक्ष धनिराम चौधरी लगायत थारु नेता तथा कार्यकर्ताहरु माथि लगाइको झुटा मुद्दाहरु खारेज गर्न ज्ञापनपत्र मार्फत मंगलबार माग गरेको हो ।

बन्दीहरुको रिहाई र विस्थापितहरुको पुनस्र्थापना गर्नुपर्ने माग राखेका छन् । साथै टीकापुर घटनाको सत्यतथ्य जाँचबुझ गर्न गठन गरेको देवीराम शर्मा नेतृत्वको जाँचबुझ समिति, सर्वाेच्च अदालतको पुर्व न्यायाधिश गिरीशचन्द्रलाल दास, संसदीय समिति लगायतबाट टीकापुर घटनाको छानविनका लागि गठित सबै आयोगहरुको प्रतिवेदनहरु अबिलम्ब सार्वजनिक गर्न माग गरेको हो ।

भूमिपुत्र आदिवासी थारुहरुको क्लस्टरलाई छिन्नभिन्न पारी थारु समुदायलाई विभाजित, खण्डित र कमजोर बनाई समाप्त पार्ने गुरुयोजना बनाएकोमा संघियताको सिमाङ्कनप्रति थाकसले असहमति जनाएको छ ।

सरकारको नीति, बजेट तथा कार्यक्रममा थारु समुदायकालागि कुनै पनि शिर्षकमा बजेट नछुटयाएकोले बजेट व्यवस्थापन गर्नुपर्ने, थरुहट आन्दोलनको क्रममा शहादत प्राप्त गर्ने शहिद परिवारहरु विगतको सम्झौता सहमतिअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने, जनआन्दोलन १, २ र मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिद सरह थरुहट आन्दोलनमा शहादत प्राप्त गरेका शहिद परिवारलाई सुविधा उपलब्ध गराइनुपर्ने माग राखेको छ ।

साथै चितवनको थरुहट आन्दोलनमा घाइते भई हालसम्म कष्टककर जीवनयापन गरिरहेका रत्ननगर–७, सिसुवारका सन्जीत महतो लगायत देशभरिका अन्य घाइतेहरुको उचित क्षतिपूर्ति र व्यवस्थापन गर्नुपर्ने माग थाकस चित्तवको छ ।

ज्ञापनपत्रमा विभिन्न १३ बुँदे राजनैतिक मागहरु राखी पेश गरिएको छ । जसमा संघीयताका सवालहरु, समानुपातिक प्रतिनिधित्व र रोजगारीका सवाल, आयोगहरुको व्यवस्थापनबारे, भाषिक शैक्षिक अधिकारबारे, सन्धी सम्झौता बारे र आन्दोलन सम्बन्धी बिषयहरु किटान गरिएको छ ।

ज्ञापनपत्रमा उल्लेख भएको मागहरु नेपाल सरकारले सम्बोधन नगरेमा विभिन्न चरणमा भद्र संघर्ष गर्ने थाकस चितवनका सभापति ललितकुमार चौधरीले बताउनुभयो ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उक्त ज्ञापनपत्र आजैको मितिमा प्रधानमन्त्रीलाई पठाउने बताउनुभयो । तपाईहरुले दिनुभएको ज्ञापनपत्र म आजैको मितिमा प्रधानमन्त्रीलाई पठाउनेछु र तपाईहरुले उठाउनु भएको राजनैतिक मुद्दाहरु नेपाल सरकारले पक्कै सम्बोधन गर्नेछ । प्रमुख जिल्ला अधिकारीको हैसियतले जिल्लास्तरका माग र मुद्दाहरु अत्यन्त चाँडो सम्बोधन गर्ने प्रयत्न गर्नेछु, बस्नेतले भन्नुभयो ।

तपाईको प्रतिक्रिया