चारजना आदिबासी पत्रकार राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै


काठमाडौं, साउन १६ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले चारजना पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ बाट पुरस्कृत गर्ने निर्णय गरेको छ । पत्रकार खिम घले संयोजकत्वको पुरस्कार छनौट समितिले साउन १४ गते पुरस्कृत हुने पत्रकारको नाम फोनिज केन्द्रलाई सिफारिस गरेको थियो ।

केन्द्रको सचिवालय बैठकले सो सिफारिसलाई मंगलबार अनुमोदन गरेको थियो । पुरस्कार छनौट समितिमा टीकाराम राई र अनिता गुरुङ सदस्य हुनुहुन्थ्यो । फोनिजले हरेक वर्ष प्रदान गर्दैआएको सो पुरस्कारबाट यस वर्ष पत्रकार उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुनुहुने भएको फोनिज केन्द्रले जनाएको छ ।

पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ । सो पुरस्कार साउन २७ गते फोनिजको १९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा वितरण गरिने अध्यक्ष डण्ड गुरुङले बताउनुभयो ।

पुरस्कृत हुनेको संक्षित विवरण
उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारिता सुरुवात गर्नुभएका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसक्नुभएको छ । हाल एभरेष्टदैनिक डटकममा कार्यरत पत्रकार मगर नेपाल पत्रकार महासंघको निवर्तमान महासचिव हुनुहुन्छ ।

भैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिका साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाईम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसक्नु भएको छ । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहनु भएका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुनुहुन्छ ।

छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाईम्स दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका छेटु शेर्पाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसक्नुभएको छ । हाल अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हुनुहुन्छ ।

विमला चौधरी
२०६२ सालदेखि पत्रकारिता सुरु गर्नुभएकी विमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसक्नु भएको छ । हाल बाँकेको नेपालञ्जस्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारिता शुरुगर्दादेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया