समृद्धिमा छलाङ् मार्दै सिचुवान प्रदेश

यात्रा संस्मरण

लक्की चौधरी

सिचुवानलाई ‘चुवान’ वा छोटोरुपमा ‘शु’ पनि भन्छन् चिनियाहरुले । यो प्रान्त चीनको पश्चिमी–दक्षिणी भूगोलमा पर्छ । यो प्रान्तको पहिचान खासमा नदीहरु हो । चारवटा नदीको संगमबाट सिचुवान नाम जुरेको हो, भनिन्छ । ‘जियलिङ, जिन्सा, मिन र चो’ नदीको नामबाट यो प्रान्तको नाम जुरेको चिनिया किंवदन्ती छ । सिचुवान प्राकृतिक स्रोतसाधन, जनसंख्या, अर्थतन्त्रको हिसावले धनी प्रान्त हो । यो प्रान्त ‘स्पाइसी खाना’का लागि पनि प्रख्यात छ । त्यही प्रान्तमा उत्पादित मसाला, अन्न, जडिबुटी र तरकारीले यो प्रान्त भरिभराउ छ । यो प्रान्त तिब्बतसँग जोडिएको प्रान्त भएकाले यहाँ ठूलो संख्यामा तिब्बतियनको बसोबास छ । यहाँ चाङ, यी, शु, बा र हान समुदायको ठूलो बाहुल्यता छ । सिचुवानको जनसंख्या अहिले ९२ मिलियन (नौ करोड २० लाख) पुगेको छ । सन् २०१७ को तथ्याङ्कअनुसार यहाँको आर्थिक भोलुम ३६९८ विलियन युआन छ । वार्षिक आर्थिक बृद्धिदर ८.१ प्रतिशत रहेको छ । यो प्रान्त ‘शु’ र ‘बा’ नागरिकको जन्मस्थानकोरुपमा परिचित छ । यो प्रान्त त्यहाँका आदिबासी जनजातिको कला संस्कृति र पर्यटकीय हिसावले निकै प्रख्यात छ । सिचुवानको राजधानी छेङ्दु हो । जुन शहर समुद्री सतहबाट पाँचसय मिटर उचाईमा पर्छ । यस प्रान्तमा ७ हजार ५५६ मिटर अग्ला हिमाल छन् ।

‘हजार नदीको प्रान्त’को नामले पनि यो प्रान्त चिनिन्छ । चीनको यो प्रान्तले जलविद्युतमा ठूलो फड्को मारेको  छ । पर्यटकीय हिसावले ठूलो प्रगति गरेको प्रान्त पनि चीनको यही हो ।

सिचुवानमा अथाह प्राकृतिक स्रोत छ । ‘हजार नदीको प्रान्त’को नामले पनि यो प्रान्त चिनिन्छ । चीनको यो प्रान्तले जलविद्युतमा ठूलो फड्को मारेको  छ । पर्यटकीय हिसावले ठूलो प्रगति गरेको प्रान्त पनि चीनको यही हो । यहाँको आदिबासी जनजातिको संस्कार र संस्कारजन्य कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगरेको छ । सिचुवानमा विश्वका पाँच ठूला प्राकृतिक सम्पदा छन् । जुसमा जिउहाइ उपत्यका, हुङलोङ, जाइन्ट पाण्डा, क्यीन्चेङ माउन्टेन र लेसान जाइन्ट बुद्ध रहेका छन् । यहाँ एघार सय तीनवटा राष्ट्रियस्तरको पर्यटकीय क्षेत्र, पन्ध्रवटा राष्ट्रियस्तरका सेनिक पर्यटकीय आकर्षण केन्द्र, २१ वटा उत्कृष्ट पर्यटकीय शहर र आठवटा राष्ट्रियस्तरका ऐतिहासिक सांस्कृतिक शहर छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य आकर्षणका केन्द्र तिनै हुन् । सिचुवानको राजधानी छेङ्दु विकासको हिसावले चीनको एउटा उत्कृष्ट शहरमध्ये एक हो । सन् १९९० पछि युद्धस्तरमा भएको विकासले छेङ्दु अहिले विश्वकै विकसित शहरमा दरिएको छ । एयरपोर्टका हिसावले पनि छेङ्दु विमानस्थल चीनको राजधानी बेइजिङ र सङ्घाई पछिको तेस्रो ठूलो एयरपोर्ट हो । अर्को टिन्फू अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन अवस्थामा छ । सन् २०२० सम्म उडान भर्नेगरी काम सक्ने तयारी गरिएको छ । यहाँ थप १२ वटा क्षेत्रीय एयरपोर्ट पनि छन् । त्यस्तै चार हजार सातसय किलोमिटर रेलसेवा यहाँ सुचारु छ । ठूलठूला गगनचुम्बी भवन, चौडा र फराकिला सडक संरचना, ठाउँ ठाउँमा निर्मित बेली ब्रिज, पार्क र म्युजियम यहाँका लोभलाग्दा भौतिक संरचना हुन् ।

शैक्षिक विकासः
सिचुवान शैक्षिक हिसावले फड्को मारेको छ । यहाँ १०९ विश्वविद्यालय र क्याम्पस छन् । जहाँ १.४४७ मिलियन विद्यार्थी अध्ययन गर्छन् । सो प्रान्तमा १३ वटा राष्ट्रिय ल्याबोराटोरिज, ५८ एकाडेमिसियन्स र सन् २०१६ सम्म तीनलाख ३० हजार प्रोफेसनल्सहरु तयार भएका थिए । उच्च प्रविधिजन्य शैक्षिक कार्यक्रमहरु यहाँ अध्यापन गराइन्छ । सूचना प्रविधिको क्षेत्रमा यो प्रान्तले प्रसंशनीय उपलब्धी गरेको छ । छेङ्दुका नागरिकहरु घरायसी कामकाजका लागि किनमेल गर्ने अधिकांश काम मोबाइलबाटै गर्नेगर्छन् । विद्युतको विल तिर्ने, टेलीफोनको विल, घरको ग्यास अर्डरदेखि, पानी, किचनमा चाहिने आवश्यक सामानहरु मोबाइल मार्फत अर्डर गर्ने र व्यापारीले घरमै पु¥याउने व्यवस्था मिलाएका छन् । चीनमा चलेको सबैभन्दा राम्रो सामाजिक सञ्जाल ‘वी च्याट’ हो । सोही सञ्जालबाट घरायसी किनमेलको अर्डर गर्ने गर्छन् ।

आर्थिक विकासः
यो प्रान्त आर्थिक हिसावले निकै सम्पन्न छ । पछिल्लो केही वर्षयता युद्धस्तरमा आर्थिक विकास गरिरहेको छ । पश्चिमी चीनको १२ प्रान्तमध्ये आर्थिक प्रगतिमा सिचुवान पहिलो नम्बरमा पर्छ । सन् २०१७ को तथ्याङ्कअनुसार यो प्रान्तले जिडिपीमा ३.६ ट्रिलियन युआन हासिल गरेको छ । आर्थिक विकासकालागि उच्चस्तरको प्रविधिको विकास चीनले गरेको छ । सिचुवानमा आर्थिक विकासका सबै किसिमको प्रविधि र उद्योगमा तिव्रगतिको प्रगति छ । आर्थिक विकासका विषयमा यस प्रान्तमा ठूलठूला अन्तर्राष्ट्रिय सेमिनारहरु हुनेगरेका छन् ।
सिचुवान औद्योगिक हिसावले उच्चस्तरको विकास गरेको छ । यहाँ मिनरल वाटर, कोइला, फलाम, स्टिल, विद्युतका ठूला उद्योगहरु छन् । यहाँका नागरिकको ४४,६५१ आर.एम.वी. प्रतिव्यक्ति आम्दानी छ । भौतिक संरचनाको विकास सँगसँगै पूरातात्विक तथा सांस्कृतिक क्षेत्रको संरक्षण पनि उत्तीकै गरिएको छ । आदिबासी जनजातिको पुरानो संस्कार र संस्कृतिको प्रवद्र्धन गरी आगन्तुक पाहुनाहरुलाई मनोरञ्जन गराउने र पर्यटन प्रवद्र्धनमा समेत त्यसले भूमिका निर्वाह गरेको छ । विकासको नाममा पुराना ऐतिहासिक महत्वका चिजवस्तुको विनास नगरी भौतिक संरचनाको निर्माण गरेको देख्दा यहाँका नागरिकहरु आफ्नो पहिचानप्रति सचेत रहँदै नयाँ संरचनाको विकास गर्न रुचाउँछन् भन्ने सन्देश प्रवाह गरेको छ ।

आकाशे रेलसेवाः
सिचुवानको राजधानी छेङ्दुमा हाइटेक आकाशे रेलसेवा परीक्षणकालागि सुचारु गरिएको छ । चीनकालागि यो रेलसेवा पहिलो हो । व्याट्रीले चल्ने यो रेलसेवा वातावरणमैत्री रहने विश्वास गरिएको छ । सुरक्षाका दृष्टिकोणले पनि यसलाई भरपर्दो मानिएको छ । पिल्लर उठाएर त्यसमा फालामे रडमा झुण्डिएको आकाशे रेल चढ्न त्यतिकै आरामदायी छ । माथि सडक, त्यसकै तल रेल चलाउने चिनियाँ प्रविधि अचम्मलाग्दो छ । सन् २०१२ बाट परीक्षणकालागि सुचारु भएको यो आकाशे रेलसेवाको विस्तारको काम धमाधम भइरहेको छ । अहिलेसम्म २१ हजार किलोमिटर दूरीको बाटो परीक्षणकालागि सम्पन्न गरिएको अकाशे रेल सेवा कम्पनीले बताएको छ । चीनकालागि यो रेलसेवा नौलो अभ्यास हो । यसको भरपर्दो परीक्षणपछि यसलाई अन्य शहरमा पनि विस्तार गर्ने चीनिया सरकारको तयारी छ । यद्यपि सो रेल कम्पनी अहिले सरकारको अनुमतिमा निजी कम्पनीले बनाइरहेको छ । पर्यटक प्रवद्र्धनमा आकाशे रेलसेवाले महत्वपूर्ण भूमिका छ । सिचुवानको राजधानी छेङ्दु आउने जोकोही आन्तरिक तथा बाह्य पर्यटककालागि हेर्नैपर्ने गन्तव्य आकाशे रेल सेवा पनि बन्ने गरेको छ । सेचुवानमा सन् २०१४ देखि हरेक वर्ष पर्यटन वर्षकोरुपमा मनाइन्छ ।

सुविधा सम्पन्न बृद्धाश्रम
सिचुवान प्रान्त अन्तर्गतको होङ्यान काउन्टीमा निर्मित सामाजिक सेवाकालागि वेलफेयर सिर्भिस सेन्टर नामक वृद्धाश्रम सुविधा सम्पन्न छ । सन् २००९ बाट सञ्चालनमा ल्याइएको सो बृद्धाश्रमकालागि ६.२८ मिलियन युआन खर्च गरिएको छ । सो वृद्धाश्रममा ८० वटा बेड राखिएका छन् । घरपरिवारका सदस्य गुमाएका, सहाराविहिनका लागि सो वृद्धाश्रम वास्तविक सहारा बनेको छ । सो वृद्धाश्रममा बस्ने वृद्धवृद्धालाई चिनिया सरकारले मासिक ५५० आर.एम.वी. र समुदायको तर्फबाट ५० युआन रुपियाँ प्रदान गर्ने गरिएको छ । सो वृद्धाश्रममा बसेका ज्येष्ठनागरिकले जीवन त्याग गरेमा काजक्रियादेखि अन्तिम संष्कार समेत सोही वृद्धाश्रमले गर्नेगरेको छ । त्यस्तो वृद्धाश्रम अन्य ठाउँमा पनि खोलिएका छन् । ६० वर्ष उमेर नाघेका तर परिवारका आफ्ना सदस्य नभएका पाका उमेरका ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा राख्ने नीति चीनिया सरकारले लिएको छ । यस्ता बृद्धाश्रम चीनभरी रहेको र निकै सुविधा सम्पन्न रहेको दावी त्यहाँका नागरिकहरुको छ ।

रिसर्च बेस जाइन्ट पाण्डा
छेङ्दुको स्वाङल्यू अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३० किलोमिटर टाढा रहेको छेङ्दु रिसर्च बेस अफ जाइन्ट पाण्डा संरक्षण पार्क पर्यटकको प्रमुख गन्तव्यस्थल मध्ये एक हो । करिब २४० वटा जाइन्ट पाण्डा रहेको सो पार्कको क्षेत्रफल एकसय हेक्टर छ । संरक्षण पार्कमा बाँसघारी निर्माण गरिएको छ, बाँसका पात र विरुवाहरु पाण्डाका प्रमुख आहार हो । सो पार्कमा विभिन्न थरीका चराचुरुङ्गीको पनि बास छ । दिनभरी चराको चिरविराहतले आगन्तुक पाहुनाहरुको स्वागत गरेको अनुभूति हुन्छ । जाइन्ट पाण्डा उत्पादनकोरुपमा पनि सो संरक्षण पार्क चिन्ने गरिन्छ । आगन्तुक पाहुनाको व्यवस्थित अवलोकनकालागि मान्छे हिड्ने ट्रयाक र फलामका बारहरु व्यवस्थित गरी निर्माण गरिएका छन् । पार्कभित्र पाण्डा हेर्ने पर्यटकको घुइँचो लाग्नेगर्छ । रिसर्च बेस कार्यालयकाअनुसार पाण्डा पार्कको अवलोकन गर्न त्यहाँ वार्षिक तीन मिलियन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

एक पाटो एक बाटो
चिनिया सरकारको सबैभन्दा ठूलो र आकर्षक प्रोजेक्टकोरुपमा अहिले एक पाटो एक बाटो रहेको छ । जसलाई रेशमी मार्गको नामले जानिन्छ । उसो त जर्मन भूगोलविद् फर्डिनान्ड भोनले सबैभन्दा पहिले सन् १८७७ मा सिल्क रोडको परिकल्पना गरेका थिए । १८ औं शताब्दीतिर चीनमा उत्पादित रेशमी कपडा निकै प्रचलित थियो । सो कपडा चीनबाट युरोप, अरवसहित पश्चिमा अन्य देशमा निर्यात हुने गर्थे । त्यसले चीनको व्यापार मात्र प्रवद्र्धन गरेन । त्यसले त चीनसित अन्य मुलुकको संस्कृति र सभ्यातालाई पनि जोड्ने काम ग¥यो । सन् २०१३ मा चीनियाँ राष्ट्रपति सी जिनपिङले एक पाटो एक बाटो (वान बेल्ट वान रोड–ओबीओआर) प्रस्ताव गरेका थिए । अहिले त्यही प्रोजेक्ट चीनको लागि ड्रिम प्रोजेक्ट बनेको छ । यसको विकासले नै चीनलाई विश्वसँग जोड्न सकिने, चीनको व्यापार विश्व बजारसम्म लग्न सकिने र समृद्धिको चुली चुम्न सकिने चीनको बुझाई छ ।

सन् २०१३ मा चीनियाँ राष्ट्रपति सी जिनपिङले एक पाटो एक बाटो (वान बेल्ट वान रोड–ओबीओआर) प्रस्ताव गरेका थिए । अहिले त्यही प्रोजेक्ट चीनको लागि ड्रिम प्रोजेक्ट बनेको छ ।

चीनले अहिले जेजति आर्थिक विकास गरेको छ, त्यो आधुनिक बाटो, पुलपुलेसा निर्माणकै करामत हो भन्नेहरु धेरै छन् । फराकिलो बाटो निर्माण भएपछि मात्र अन्य विकास निर्माण सहज हुने नीति चीनको देखिन्छ । चौडा र फराकिला बाटो निर्माणले सुगम र दूर्गम भागलाई जोड्ने र आधुनिक स्रोत साधन सञ्चालन गरी चीनको व्यापार प्रवद्र्धन गर्ने यो महत्वाकांक्षी परियोजनाको उद्देश्य देखिन्छ । रेशमी मार्गले एक अर्को भूगोललाई मात्र जोड्दैन, यसको अर्को महत्वपूर्ण पक्ष भनेको नागरिक–नागरिकबीचको सम्बन्ध बनाउने ध्येय हो । यो मार्गले स्थल र जल दुवै माध्यमबाट अन्य मुलुकसँग जोड्ने लक्ष्य लिएको देखिन्छ ।

नेपाल दुईठूला छिमेकी चीन र भारतबीचको भूपरिवेष्ठित मुलुक हो । चीनको ओविओआर प्राजेक्टमा नेपालले संलग्नता जनाईसकेको छ । जसअन्तर्गत अन्तर हिमालय आर्थिक क्षेत्र (ट्रान्स हिमालयन इकोनोमिक जोन अफ कोअपरेशन) भन्ने योजनाको एउटा हिस्सा नेपाल बनिसकेको छ । जसकाकारण चीनले तातोपानी–खासा, रसुवा–केरुङ, हुम्लाको हिल्सा–ताक्लाकोट, सँखुवासभाको किमाथाङ्का–रिउ लगायतका स्थलमार्ग जोड्ने कामको तयारी शुरु भएको छ । यसले चीनको व्यापारसँग मात्र नेपाल जोडिने छैन, त्यहाँको संस्कृति, भेषभुषासँग पनि जोडिने छ । नेपालको आर्थिक विकासका लागि यो राम्रो अवसर पनि हो ।

तपाईको प्रतिक्रिया