महिला माथिको हिंसा कहिलेसम्म ?

विचार (टिप्पणी)

अनिता बडायक थारु

देशमा गणतन्त्र आयो । लोकतन्त्रको स्थापना भयो । बीस बर्षको लामो अन्तरालपछि जनताले जनप्रतिनिधि पनि पाए ! तर शान्ति सुरक्षा पाएनन् । शान्तिको श्वास फेर्न पाएनन् । देशमा दिनानुदिन बलात्कार, हत्या, अपहरणका घट्ना बढिरहेका छन् । तर त्यसको रोकथामको कुनै ठोस कदम चालिएको देखिंदैन ।

राष्ट्रको प्रमुख अङ्ग मानिने सुरक्षा निकायको काम देश र जनतालाई सुरक्षा प्रदान गर्नु हो । तर तिनै सुरक्षा निकाय आज अपराधिक क्रियाकलापमा संलग्न भएपछि जनताले कसरी सुरक्षाको अनुभुति गर्नु ? हरेक आमाहरुले आफ्ना कलिला नानीहरुलाई बलात्कार, मृत्युजस्ता जघन्य अपराधबाट जोगाउन कुरेर बस्नुपर्ने अवस्था आइसक्यो । जुन देशमा महिलाले दैनिक चौध, पन्ध्र घण्टा काम नगरी उनीहरुको परिवार चल्दैन, ती महिला घरमा नानी कुरेर कसरी बस्न सक्छन् ?

देशमा प्रहरीको संख्या थपिएको छ तर अपराधका घटना भने द्रुतगतिमा बढिरहेको छ । जुन ग्रामीण भेगतिर प्रहरीको सुरक्षाको आवश्यकता छ, प्रहरी चौकीको आवश्यकता छ, त्यहाँ प्रहरी चौकीको स्थापना हुन सकेको छैन । के प्रहरीको काम केन्द्र र जिल्लाका हेडक्वाटरमा मात्रै सुरक्षा दिनु हो ? यदि प्रहरीको काम प्रधानमन्त्री निवास, सिंहदरवार, संसद भवन र मन्त्रीहरुलाई मात्रै सुरक्षा दिनु हो भने आजैबाट ती भएका ग्रामीण भेगमा खटिएका सुरक्षा निकायलाई पनि केन्द्र र जिल्लाका हेडक्वाटरमा बोलाए हुन्छ सरकार ! जुन सरकारले आफ्ना नागरिकलाई शान्ति सुरक्षा दिन सक्दैन, दिनानुदिन महिला बालबालिका बलात्कारको शिकार हुनु परिरहेको छ भने त्यो सरकारले नागरिकलाई ठूला सपना देखाएर त्यसको के काम ? “नेपालको संविधान विश्वकै सबैभन्दा उत्कृष्ट संविधान” रे ! लैङ्गिक समानता, ३३% महिला सहभागिता, जातीय सहभागिता, क्षेत्रिय सहभागिता । सबै सहभागिताले भरिपूर्ण संविधान रे ! नेपाल कानून बनाउन र कुनैपनि अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गर्न पछिपर्दैन । तर ती कानून कति प्रतिशत लागू हुन्छन् त्यो त आमनेपाली जनताले देखे भोगेकै छन् ।

हाम्रा उच्च ओहदामा बसेका दिदिबहिनीहरु हो, के तपाईंहरु पुरुषले गरेका निर्णयमा ताली पड्काउनालाई मात्रै त्यो पदमा बस्नु भाको हो ? के तपाईंहरुको आफ्नो निर्णय केही हँुदैन ?

नेपालमा महिला राष्ट्रपति छन् । महिला प्रधान न्यायधीश भए, सभामुख, उपसभामुख भए । हाल संघीय संसदमा ११२ जना महिला प्रतिनिधि छन् । स्थानिय निकायका हरेक महानगरपालिका, नगरपालिका र गाउँपालिकाका कार्यकारी पदमा महिला कार्यरत छन् । तर महिलाको शान्ति सुरक्षाको ठोस कदम किन चालिएको छैन सरकार ? हाम्रा उच्च ओहदामा बसेका दिदिबहिनीहरु हो, के तपाईंहरु पुरुषले गरेका निर्णयमा ताली पड्काउनालाई मात्रै त्यो पदमा बस्नु भाको हो ? के तपाईंहरुको आफ्नो निर्णय केही हँुदैन ? के तपाईंहरु जुन ग्रामीण भेगबाट आउनुभाको त्यो गाउँको महिला दिदी बहिनीहरुको पीडालाई बिर्सनु भएको हो ? यदि होइन भने हामीले तपाईंहरुलाई संसदमा ताली पड्काउनलाई मात्रै पठाएका होइनौं । आफ्नो हक, अधिकार, महिला शान्ति सुरक्षा सम्बन्धी दह्रो धारणा किन प्रस्तुत गर्न सक्नु हुदैन तपाईंहरु ?

देशमा दिनानुदिन बलात्कार, हत्याले कलिला मुनाहरुको निर्मम हत्या भैरहेको छ । कति आमाको कोख रित्याउने कुकर्म भैरहेकोछ । तपाईंहरु चाहीं ती पुरुषहरुको हरेक निर्णयमा ताली पड्काएर बस्ने ? सुन्दै कहालीलाग्दो घटनाहरुले के तपाईंहरुको मुटु दुखेको छैन ? के तपाईंहरुको छाती पोलेको छैन ? के तपाईंहरुको आँखा रसाएको छैन ? यदि हो भने त्यस्ता बलात्कारी, हत्यारा, नरपिशाचहरुलाई फाँसीको सजाय हुनुपर्छ भनेर संविधानमा लेखिनु पर्छ भनेर किन दवाव दिन सकिराख्नु भएको छैन ? यदि नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भने यो एउटा बुँदा थपिदा झन् उत्कृष्ट हुदैन र ?

नेपालमा ठूला गफ लाउने र जनतालाई दिउँसै झूठा सपना देखाउने नेताहरु तमाम छन् । अब कसले कति काम ग¥यो भनेर मूल्याङ्कन गर्नेबेला भइसक्यो । सरकारको राम्रो काममा सहभागी हुनु र नराम्रो कामको खबरदारी गर्नु हामी नागरिकको अधिकार हो । त्यसैले अब सबै नागरिकले आ–आफ्नो ठाउँबाट सरकारको मूल्याङ्कन र खबरदारी गर्नुपर्दछ । हामीलाई पानीजहाज होइन सरकार ! देशमा भएका सडकहरुको खाल्डाखुल्डी पुरेर पक्की गरिदेउ ! ट्रेन र मेट्रो ट्रेनका सपना मात्र होइन, हामीलाई शान्ति सुरक्षा देउ ! जबसम्म हामीलाई शान्ति सुरक्षा हुदैन, तबसम्म हामी कसरी तिम्रो पानी जहाज र मेट्रो चढेर सररर कुद्ने सपना देख्न सक्छौं ?

बलात्कारी खुलेआम घुुम्छन् । जेल गएको हप्ता दिन बितेको हुदैन माथिल्लो निकायबाट मेरो मान्छे हो भनेर बाहिर निकाल्ने काम गरिन्छ भने त्यस्ता कानूनको के काम ?

शान्ति सुरक्षा पाउनु कुनैपनि देशको जनताको आधारभूत आवश्यकतामा पर्दछ । तर जुन देशका जनता पाइला पाइलामा असुरक्षा महशुस गर्दछन, त्यस देशको बिकास कसरी हुन्छ ? नेपालमा कानून नबनेका हैनन्, तर ती कानूनको त कुनै मान्यता छैन । बलात्कारी खुलेआम घुुम्छन् । जेल गएको हप्ता दिन बितेको हुदैन माथिल्लो निकायबाट मेरो मान्छे हो भनेर बाहिर निकाल्ने काम गरिन्छ भने त्यस्ता कानूनको के काम ? यदि यस्तो गरिन्छ भने त्यो नेता पनि बलात्कारी भएन र ?

बास्तवमा जवसम्म देशमा यस्तो फितलो कानून र दण्डहीनता हुन्छ, तबसम्म नेपाली जनताले शान्तिको श्वास फेर्न पाउने छैनन् । आजको एक्काईसौं शताब्दीमा पनि महिलालाई बोक्सीको आरोपमा निर्मम कूटपिट गरी यातना दिइन्छ । महिनावारीजस्तो प्राकृतिक नियममा महिलालाई छाउपडी गोठमा सुताईन्छ, जस्ले गर्दा कति दिदिबहिनीहरुलाई सर्पले टोकेर अकालमा ज्यान गुमाउनुपरेको छ । कतिलाई नरपिशाच पुरुषहरुको शिकार बन्नु परेकोछ ।
बिकसित देशहरु जापान, चीन, दक्षिण कोरियामा कसरी बिकास भयो भनेर उनीहरुको ईतिहास पढेर बस्नेबेला होइन यो । बिकसित देशहरु गफ गरेर होइन, काम गरेर बिकसित भएका हुन् । बिकसित देशहरुमा भौतिक पूर्वाधार र उद्योगधन्दा मात्र होइन, उनीहरुको शान्ति, सुरक्षा, सभ्यता र महिलाको उच्च कदर पनि हेरेर केही कुरा सिक्नु पर्ने हो । जबसम्म यो देशमा दुई चार नरपिशाच शूलिमा झुण्डिदैनन्, तबसम्म यस्ता अपराधी कम हुदैनन् । त्यसैले अब त बलात्कारीलाई फाँसीको सजाय देउ सरकार !

गोदावरी– ६, कैलाली

तपाईको प्रतिक्रिया