विश्व आदिबासी दिवस मनाइँदै, जनजातिप्रति राज्य उदासिन रहेको आरोप


काठमाडौं, साउन २४ गते । चौविसौं विश्व आदिबासी दिवस विहिबार देशभर आदिबासी जनजातिहरुले विभिन्न व्यानरमुनि रहेर मनाएका छन् । दिवस मनाइरहँदा आदिबासी जनजाति नेताहरुले राज्यले अझै जनजातिप्रति उदासिन रहेको आरोप लगाएका छन् ।

नेपाल आदिबासी जनजाति महासंघको आयोजनामा आदिबासी जनजातिले विहिबार काठमाडौंको राष्टियसभा गृहमा भव्य कार्यक्रम गरेका छन् । कार्यक्रममा आदिबासी जनजातिका नेताहरुले नयाँ संविधानमा भएको अधिकारको संरक्षण गर्दै थप अधिकारकालागि अझै राज्यसँग संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।

आदिबासी जनजातिप्रति राज्यको हेर्ने नजरिया अझै सकारात्मक हुन नसकेको टिप्पणी आदिबासी जनजाति नेताहरुको रहेको छ । सोहीक्रममा देशव्यापीरुपमा दिवस मनाइरहँदा आदिबासी जनजाति प्रतिनिधिहरुले सोही आसयको धारणा राखेको सुनिएको छ । दिवस नेपाल बाहिर पनि आदिबासी जनजाति संघ संस्थाहरुले मनाएका छन् ।

संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । अन्तरिम संविधानमा सुनिश्चित गरिएको अधिकार पनि नयाँ संविधानले कटौती गरेको गुनासो आदिबासी जनजाति प्रतिनिधिहरुको छ ।

जल, जंगल, जमिनमा अधिकार स्थापित गर्न आदिवासी जनजातिहरु एकजुट भई अघि बढ्नुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । तर आदिबासी जनजाति आन्दोलन अहिले छिन्नभिन्न अवस्थामा पुगेको चिन्ता पनि आदिबासी जनजाति अगुवाहरुको छ । अधिकारको आन्दोलनलाई एकाकार गरेर अगाडि बढाउन नसक्नु नेतृत्वको कमजोरी रहेको आरोप पनि कतिपय युवाहरुको छ ।

आदिवासी जनजातिहरुको भेषभूषा, भाषा, सँस्कृतिको संरक्षणमा पनि राज्यले खासै ध्यान नदिएको गुनासो जनजाति नेताहरुको छ । राज्यको गहनाकोरुपमा रहेको आदिबासी भाषा, संस्कृति र संस्कारलाई सहीरुपमा व्यवस्थापन गर्नसके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न सकिने कतिपयको धारणा छ । राज्यलाई त्यसमा सचेत हुन नेताहरुले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया