भारततर्फ लैजादै गरेको साढे दुई क्वीन्टल अवैध मरिच प्रहरी नियन्त्रणमा


भगतराम थारु
नेपालगञ्ज, साउन २५ गते । नेपालगन्जको बाटो भएर भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारततर्फ लैजादै गरेको सो मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ४० गण नेपालगंजले नियन्त्रणमा लिएको हो । दुई क्वीन्टल ४० केजी मरिचसहित अटोरिक्सा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगन्ज नाका हुदै भारततर्फ लैजादै गर्दा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर बाँके नं. ३० गण महेन्द्रनगर बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बुढाक्षेत्रीको कमाण्डमा खटिएको मोवाईल टोलीले उक्त अवैध मरिच बरामद गरेको हो । सो मरिचको मुल्य दुई लाख ३ हजार ५ सय रपियाँ पर्ने सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर बाँके नं. ३० गण नेपालगंजका एसपी भेषबहादुर शाहीले जानकारी गराउनुभयो ।

अहिले सम्मकै ठुलो परिणामको मरिच बरामद गरिएको एसपी शाहीले बताउनुभयो । आठवटा बोरामा रहेको उक्त मरिच ना २ स ७२६ नं. को अटोरिक्साबाट भारततर्फ लैजादै गरेको अवस्थामा फेला पारिएको उहाँले जानकारी गराउनुभयो । अटो रिक्सा चालक भने फरार रहेको एसपी शाहीले बताउनुभयो । सशस्त्र प्रहरीले बरामद गरेको मरिच र अटो रिक्सा नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको एसपी शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया