कैलाली र कञ्चनपुरका रानाथारु समुदायले भव्यरुपले मनाए तीज कार्यक्रम


नन्दलाल राना
धनगढी, साउन ३० गते । कैलाली र कञ्चनपुर दुई जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले तीज कार्यक्रम भव्यरुपमा मनाएका छन् । कार्यक्रमको उदघाटन सांसद नारदमुनी रानाथारुले गर्नुभएको थियो ।

सो अवसरमा सांसद रानाथारुले आफ्नो समुदायको हक अधिकारका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । रानाथारु समुदायको अलग्गै सुचीकरणको पहल भइरहेको र चाँडै हुने विश्वास उहाँले दिलाउनुभयो ।
राना थारु समुदायको होली, तीज र गुरिया पर्वलाई भव्यरुपमा मनाउने गर्छन् । सो समुदायका दिदिवहिनीले आफ्नो गाउँका दाजु भाइको लामो आयुको कामना गर्दै तीज पर्व मनाएका छन् ।

तीज पर्वमा राना थारु समुदायले पुरी, गुलगुला, पकौडा लगायतका मीठा परिकार खाएर मनाउने गर्छन् । यो पर्वमा राना थारु समुदायका प्रतिनिधिले दिनभरी व्रत बस्ने गर्छन् । तीज पर्वको अवसरमा यसवर्ष धनगढी उपमहानगरपालिका १३ स्थित कैलाली गाउँ र वडा नं. ११ स्थित घोडसुवा गाउँमा कार्यक्रम गरी सामुहिकरुपमा तीज पर्व मनाएका छन् ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका ५ को भकुण्डामा पनि तीजको कार्यक्रम भव्यरुपमा आयोजना गरिएको स्थानीयले बताएका छन् । सो अवसरमा राना थारु समुदायका अगुवाहरुले रानाथारु समुदायलाई अलग्गै सुचीकरणको माग गरेको स्थानीय सुनिता रानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया