सय दिनमा प्रेस स्वतन्त्रताको ९५ घटना


काठमाडौं, मंसिर ८ गते । तराई मधेसको जारी आन्दोलनको एकसय दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का ९५ वटा घटना भएको नेपाल पत्रकार महासंघको मिडिया अनुगमनले देखाएको छ ।
सय दिनयता पत्रकारमाथिको आक्रमण २२, दुव्र्यवहार र हातपात २२, धम्की ११, सञ्चार माध्यममा धम्की ४, पक्राउ २, प्रकाशन र प्रशारणमा अवरोध १, प्रकाशन प्रशारण बन्द १, सवारी साधन तोडफोड ७, स्वतन्त्र पत्रकारितामा अवरोधका २५ वटा घटना भएको महासंघले जनाएको छ ।
महासंघको तर्फबाट मंगलबार विज्ञप्ती जारी गर्नुहुँदै अध्यक्ष डा. महेन्द्र विष्टले आन्दोलनका क्रममा देखिएको घटना, स्थलगत मिसन टोलीको अध्ययन प्रतिवेदनका आधारमा सो घटनाको तथ्याङ्क निकालिएको बताउनुभयो । यससँगै पत्रकारलाई भौतिक सुरक्षाको समस्या यथावत रहेको उहाँले बताउनुभयो । कतिपय मिडियाको प्रशारण तथा प्रकाशनको विषयवस्तु नै आचारसंहिताको दृष्टिले आपत्तिजनक पाइएको उहाँले प्रष्ट पार्नुभयो ।
मधेस तराईमा सञ्चालित मिडियामा कार्यरत पत्रकारलाई आन्दोलनका क्रममा सेल्फसेन्सरसिप र भौतिक सुरक्षाको चुनौति बढीरहेको बताउँदै महासंघले स्थितिलाई सहज बनाउन गम्भीरतापूर्वक वार्ता र संवाद थाल्न आग्रह गरेको छ । पत्रकारको भैतिक सुरक्षाको प्रत्याभूति, प्रेसलाई निर्वाध आवागमनको व्यवस्था, स्वतन्त्र पत्रकारिताको अभ्यासलाई अवरोध नगर्नेजस्ता व्यवस्था मिलाउन सम्बन्धित सबैपक्षसँग महासंघले आग्रह गरेको छ ।
औषधि, इन्धन, दैनिक उपभोग्य सामग्रीको आपूर्ति तथा एम्बुलेन्स, प्रेस र यात्रुबाहक सवारीसाधनको सञ्चालनमा अवरोध नगर्न महासंघले आन्दोलनरत पक्षसँग आग्रह गरेको छ । विद्यमान मधेस तराईको समस्या यथाशीघ्र समाधानका लागि राजनीतिक तवरबाट प्रयास थाल्न महासंघले सरकार तथा दलका नेता र आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया