थाकस केन्द्रीय अध्यक्षका लागि चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा


कारी महतो थारु
भरतपुर, भदौ ९ गते । आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुने थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रिय महाधिवेशनमा चितवन थाकस शाखाका पूर्व जिल्ला सभापति विश्राम महतोले शनिबार अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

थारु समुदायको छाता संगठन थाकस केन्द्रीय समितिलाई सक्रिय बनाउन आफूले उम्मेदवारी घोषणा गरेको महतोले बताउनुभयो । आफूले २४ वर्षसम्म विभिन्न तहमा काम गरी हासिल गरेको अनुभवलाई केन्द्र तहमा सदुपयोग गर्न केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेको महतोले जनाउनुभयो ।

“चितवनको हरेक क्षेत्रमा भवन निर्माणका क्रममा जग्गा पास गर्नकालागि केन्द्रसँग नविकरण प्रमाणपत्र माग गर्दा नविकरण नै नभएको जानकारी प्राप्त हुन्छ । केन्द्रीय समितिले सिन्को समेत भाँच्न नसकेको अवस्थामा आफूले हरेक क्रियाकलापमा थाकसको उचाई वृद्धि गर्न म पूर्णकालीन समय दिन चाहन्छु” महतोले भन्नुभयो ।

महतो थाकसमा दुई कार्यकाल क्षेत्रीय सभापति, एक कार्यकाल केन्द्रीय सदस्य र तीन कार्यकाल चितवनको जिल्ला सभापतिको भूमिका निर्वाह गर्नुभएको छ ।

थाकस केन्द्रीय अध्यक्षकालागि हालका वर्तमान अध्यक्ष धनीराम चौधरी पनि पुनः दोहोरिने मुडमा भएको थाकस केन्द्रले जनाएको छ । उहाँपछि अध्यक्ष पदकालागि घोषणा गर्ने महतो अर्को उम्मेदवार देखिनुभएको छ । त्यस्तै, भित्रभित्र अध्यक्षकालागि तयारीमा रहेका नामहरुमा प्रेमीलाल चौधरी, अमृतप्रसाद खाँ थारु, जयराम पंजियार, हरिदेवी चौधरी समेत रहनुभएको थाकस केन्द्रीय प्रतिनिधिबीच चर्चा चल्ने गरेको छ ।

तपाईको प्रतिक्रिया