थारु पात्रोअनुसार भाद्र १८ गते अष्टिम्की मनाउने थारु संघ संस्थाको निर्णय


काठमाडौं, भाद्र ९ गते । नेपाली भित्तेपात्रोअनुसार कृष्ण जन्माष्टमी (अष्टिम्की) भाद्र १७ गते आइतबार पर्ने भएपनि पश्चिम नेपालका थारु समुदायले थारु भित्तेपात्रो अनुसार १८ गते सो पर्व मनाउने निर्णय गरेका छन् ।

काठमाडौंमा बसोबास गर्ने थारु समुदायका विभिन्न संघ संगठनले पनि १८ गते मनाउने निर्णय गरेको छ । चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीकाअनुसार १७ गते दर खाएर १८ गते भव्यरुपमा थारु परम्पराअनुसार अष्टिम्की मनाउने निर्णय भएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको अडिटोरियल सभाकक्षमा अष्टिम्की मनाउने तयारी गरिएको चौधरीले बताउनुभयो ।

अष्टिम्की भव्यरुपमा मनाउन विभिन्न तयारी गरिएको र कार्यक्रमको प्रमुख अतिथि पर्यटनमन्त्रीलाई बनाउने निर्णय भएको चौधरीले बताउनुभयो । कार्यक्रम सातवटा संघ संस्थाको संयुक्त आयोजनामा गरिने चौधरीको भनाई छ ।

अध्यक्ष चौधरीकाअनुसार चम्पन सांस्कृतिक समूह, वर्दियाली थारु विकास मञ्च, मैगर थारु समाज, सर्वहित समाज नेपाल, थारु युवा परिवार, थारु विद्यार्थी समाज र कञ्चनपुर–कैलाली मैगर समाजको संयुक्त आयोजनामा थारु परम्पराअनुसार कार्यक्रम गरिनेछ ।

थारु चाडपर्व, संस्कृति र संस्कारलाई अन्य समुदायमा चिनाउन र सांस्कृतिक पहिचानको प्रवद्र्धनकालागि अष्टिम्कीपर्व काठमाडौंमा मनाउने निर्णय भएको अध्यक्ष चौधरीले बताउनुभयो । काम विशेषले काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायका प्रतिनिधिहरुले केही समय यता नियमितरुपमा थारु पर्व मनाउँदै आएका छन् । उपत्यकामा करिब डेढ लाख थारु समुदायको बसोबास रहेको दावी गरिदैआएको छ ।

अष्टिम्की पर्वमा घरको भित्तामा कलात्मक चित्र बनाएर त्यसमा टीको (टीका) लगाउने र चेलीबेटीलाई कोसेली (अग्रासन) दिएर दिदीवहिनीहरुले मनाउने गर्छन् । थारु चेलीबेटीले दिनभर व्रत बसेर घरका सदस्यहरुको दीर्घायूको कामना गर्दै कृष्ण भगवानको पूजा प्रार्थना गरी अष्टिम्की पर्व मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया