नयाँ संविधानले महिलामा हौसलाः राष्ट्रपति भण्डारी


DSC_8481

काठमाडौं, मंसिर ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानमा भएको महिलाको अधिकार सम्बन्धी व्यवस्थाले नेपाली महिलामा हौसला बढाएको बताउनुभएको छ ।

महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले त्यस्तो बताउनुभयो । संविधानमा प्रदत्त महिला हक अधिकारलाई कार्यान्वयनका लागि नयाँ कानून र नीतिहरु बनाउँदै अघि बढनुपर्ने आवश्यकता रहेको उहाँले चर्चा गर्नुभएको छ ।

“घर, समाज, सिंगो मुलुकको विकासका निम्ति आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाको सर्वतोमुखी विकास हुनु अपरिहार्य छ” चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यसकानिम्ति महिलाहरु विश्वव्यापीरुपमा सुरक्षित हुनु आवश्यक रहेको बताउनुभएको छ ।

सामाजिकरुपमा महिला हिंसालाई निषेध र निरुत्साहित गरिनुपर्ने आवश्यकता औल्याउनुहुँदै राष्ट्रपति भण्डारीले “दिवसले महिला विरुद्धहुने सबै प्रकारका हिंसा र उत्पीडनलाई समाप्त पार्दै मर्यादित समाज निर्माण गर्नमा प्रेरणा प्रदान गरोस्” सन्देशमार्फत कामना गर्नुभएको छ ।

नयाँ संविधान निर्माणले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै मुलुकको समृद्धिको ढोका पनि सँगसँगै खुलेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले पछाडि परेका र पारिएका सबै वर्ग समुदायको अधिकार सुनिश्चित्ताका लागि संविधान कार्यान्वयन गर्दैजानुको विकल्प नरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ तारिखलाई हरेक वर्ष महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसकोरुपमा मनाउने निर्णय गरेसँगै यो दिवस सदस्य राष्ट्रले मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया