साउदी जेलमा रहेका कुमार रानामगरलाई बचाउन संकलित रकम हस्तान्तरण


काठमाडौं, भाद्र ११ गते । ब्लडमनी तिर्न नसकेर विगत ११ महिनादेखि साउदी अरबको जेलमा रहेका गोरखाका कुमार रानामगरलाई मृत्युदण्डबाट बचाउन साउदी अरबबाट संकलित रकम सोमबार हस्तान्तरण गरिएको छ ।

आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले संकलन गरेको उक्त रकम काठमाडौंमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

मगर अन्तर्राष्ट्रिय मञ्चको आह्वानमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, जनप्रगतिशिल मञ्च, लाङघाली स्पोर्टस् समूह, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले कुमार रानाको जीवन रक्षाकालागि संकलित रकम १२ लाख १६ हजार सात सय ७७ रुपियाँ सम्बन्धितलाई हस्तान्तरण गरिएको छ ।

नेतृत्वकर्ता सुनारीका श्रीमती कुमारी सुनारी मगरको उपस्थितीमा नेपाल मगर संघका विदेश विभाग सचिव रक्षाबहादुर रैकामगर, संघका कोषाध्यक्ष कमला थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, पारिवारिक सेवा समाज साउदीका अर्जुन गमन तामाङले ‘कुमार राना बचाउनका निम्ती ब्लडमणी संकलन अभियान’का संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाका श्रीमती अम्बिका रानालाई हस्तान्तरण गरिएको हो ।

संयोजक कृष्णप्रसाद ढकालले कम्पनिले ५० हजार रकम उपलब्ध गराएमा अदालतले तोकिएको ब्लडमणी संकलनको काम पूरा हुने तर नदिएमा थप ७ लाख रुपैयाँ आवश्यक पर्ने बताउनुभयो । ढकालका अनुसार हालसम्म करिब ६७ लाख १६ हजार रकम संकलन भएको छ ।

रोजगारीका लागि साउदी गएका गोरखाका कुमार राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए । दुर्घटनामा साउदीका नागरिक घाइते भई ८३ लाख रुपैयाँ माग दाबी गर्दै रानालाई जेल पठाइएको थियो । यसअघि सुनारीको नेतृत्वमा ब्लडमणी तिर्न नसकेर साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ती मगरलाई बचाउन ९ लाख २७ हजार १ सय १८ रुपैयाँ सहयोग गरेको थियोे ।

तपाईको प्रतिक्रिया