लालचन चौधरीले भेट्टाएको रुपियाँमा लालच देखाएनन्, फर्काइदिए


परासी, भदौ २७ गते । पश्चिम नवलपरासीका स्थानीय लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको दुई लाख रुपियाँ नगद हराउने धनीलाई नै फिर्ता गरेका छन् । इमान्दारिता प्रदर्शन गरेकोमा चौधरीको चौतर्फी प्रशंसा भएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जानेक्रममा सो रकम हराएकी थिइन् । पावित्रीले प्रहरी तथा स्थानीयवासीलाई पैसा हराएको बारेमा खबर गरेकी थिइन् ।

तत्कालै रकम भेट्टाउनेलाई पुरस्कारको घोषणासहित खोजतलास शुरु गरिएको स्थानीय कानून व्यवसायी दीपेन्द्र मिश्रले बताउनुभयो । चाडवादको मुखमै पाएका दुई लाख रुपियाँ फिर्ता गरेर चौधरीले थारुको इमानदारिता प्रकट गरेका छन् ।

रकम भेट्टाएका रामग्राम–१६ कै लालचन चौधरीले पावित्री थारूको पैसा भएको थाहा पाएपछि उहाँले आफैँ लगेर पावित्रीलाई पैसा फिर्ता दिनुभएको हो । पावित्रीले घोषणा गरेको पुरस्कार पनि चौधरीले लिन मान्नु भएन । लालचनको यो इमान्दारिताप्रति कृतज्ञ हुँदै पीडित परिवारले धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया