दुई थारु पत्रकारसहित पाँच जना लाई प्रभुनारायण स्मृति सम्मान


काठमाडौं, भदौ, २९ गते । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले गोरखापत्रकर्मी तथा हमार पहुरा डट कमका सञ्चालक लक्की चौधरीसहित पाँचजना व्यक्तित्वलाई शुक्रबार एक कार्यक्रमबीच सम्मानित गरेको छ ।

सो प्रतिष्ठानको नवौं स्मृतिसभाको अवसरमा विभिन्न विधा र क्षेत्रमा योगदान पु¥याएकाहरुलाई एकसाथ सम्मानित गरिएको हो । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट गोरखापत्रका उपसम्पादक चौधरी, कान्तिपुर टेलिभिजनका सम्वाददाता प्रदीप लेखी (खेलकुद), रेखा भट्टराई (गायन), रमेश कोइराला (निर्देशन) र अमृत मरहठ्ठा (श्रृङ्गार) तर्फ सम्मानित हुनुभयो ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीले सम्मानपत्र तथा दोसल्ला ओढाएर उहाँहरुलाई सम्मानित गर्नुभयो । पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री समेत रहनुभएका प्रभुनारायण चौधरीको २०६७ भदौ २९ गते निधन भएको थियो । उहाँको स्मृतिमा २०७० मा प्रतिष्ठान गठन गरिएको थियो ।

पकली ६, सुनसरीमा १९९९ साउन २६ गते जन्मनुभएका चौधरी निरंकुश राजतन्त्रको अन्त्य तथा मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि अनवरत योगदान दिनुभएको थियो । नेकपा (एमाले) को पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका चौधरी प्रजातन्त्रका लागि संघर्ष गर्दा २०२५ देखि २०३० सम्म जेल पर्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ अधिवक्ता कुष्णप्रसाद भण्डारीले प्रभुनारायण चौधरीले प्रजातन्त्र स्थापनार्थ जीवनभर लडाई लड्नु भए पनि राज्यले उृहाँको उचित मूल्याङ्कन नगरेको गुनासो गर्नुभयो । उत्पीडित जनताको पक्षमा वकालत गर्नुभएका नेता चौधरीको योगदानलाई सरकारले उच्च मूल्याङ्कन गर्नुपर्ने उहा्ँले सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीको सभापतित्वमा भएको कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई, पूर्व सचिव डा. शंकरलाल चौधरी, अधिवक्ता भागवतप्रसाद चौधरी, डा. ललन चौधरी, पत्रकार लक्की चौधरी, रविन्द्र थिङ, चन्द्रनारायण चौधरी लगायतले प्रभुनारायणको योगदानको चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया