थाकस कैलाली जिल्ला सभापतिमा पुनः लाहुराम चौधरी


धनगढी, भदौ ३० गते । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

धनगढीमा शनिबार भएको आठौं जिल्ला अधिवेशनले चौधरीलाई पुनः तीन वर्षकालागि सभापति चयन गरेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि धनगढी कारागारमा छन् ।

२०७२ भदौ ७ गते टीकापुर घटना घटेकाबेला चौधरीले धनढीमा थरुहट आन्दोलनको नेतृत्व गर्नुभएको थियो । घटना भएको दिन जिल्ला प्रशासन कार्यालय अगाडि उहाँकै नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गरेकै कारण पक्राउ परेका चौधरी पछिल्लो अढाई वर्षदेखि जेलमा हुनुहुन्छ ।

त्यसैगरी जिल्ला सदस्यमा विनिता चौधरी, एन्जल चौधरी, सविता चौधरी, देशराम चौधरी, वीरबहादुर चौधरी, सीता चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी, माधव चौधरी र तारा चौधरी चयन भएका छन् । कार्य समिति पदाधिकारी सदस्यभित्रबाटै चयन गरिने माधव चौधरीले जानकारी दिनुभयो ।

सोहीअनुसार अधिवेशनमार्फत गंगादेवी चौधरी, जनकराज चौधरी, केवालाल चौधरी, जगतराम चौधरी, प्रभातकुमार चौधरी, फोनीराम चौधरी, रामकुमारी चौधरी, पुरनप्रसाद चौधरी, सुशीला चौधरी र कृष्णकुमार चौधरीलाई केन्द्रीय पार्षदमा चयन गरिएको छ ।

केन्द्रीय पार्षद्मा ३३ प्रतिशत महिला नपुगेको भन्दै महिला पार्षद्ले विरोध जनाएका छन् ।

यसैबीच, थारु कल्याणकारिणी सभा कैलाली लगायत विभिन्न संघ संस्थाले अट्वारी पर्वको उपलक्ष्यमा भदौ ३१ गते सार्वजनिक विदा दिएकोमा प्रदेश नम्बर ७ प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

तपाईको प्रतिक्रिया