सभामुख ओनसरी घर्ती र कांग्रेस सांसदबीच बैठकमा जोहारी

प्रक्रिया मिचियोः कांग्रेस, मिचेको छैनः सभामुख


SAM_2129

काठमाडौं, मंसिर १० गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसबीचको प्रक्रिया र पद्धतिको गोलचक्करले विहिबारको संसद बैठक अवरुद्ध भयो । संसद बैठकमा कसले पहिले बोल्ने विवाद शुरुभएपछि बैठक अवरुद्ध भएको हो ।

विहान ११ बजेका लागि बोलाइएको संसद बैठक एकघण्टा अवेरगरी दिउँसो १२ः५ बजे शुरुभए पनि मधेसी मोर्चा सम्बद्ध दलका सांसद र नेपाली कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए । मोर्चासम्बद्ध दलबाट मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पहिले बोल्नेगरी नाम टिपाएको थियो । तर प्रमुख प्रतिपक्षीदल कांग्रेसले संसदीय प्रक्रिया अनुसार पहिले आफ्नो दलबाट विमलेन्द्र निधिले बोल्न पाउनुपर्ने भन्दै अडान लियो ।

त्यही अडानकाबीच करिब १५ मिनेट समय सांसदबीचको चर्काचर्कीमा बित्यो । सभामुख घर्तीले बोल्नकालागि अध्यक्ष यादवको नाम बोलाउनुभएपछि कांग्रेसका सांसदहरु झन आक्रोशित भए । “प्रक्रिया मिच्न पाइँदैन, पहिले प्रमुख प्रतिपक्षीदलले बोल्न पाउनुपर्छ” भन्दै नाराबाजी गर्नुभयो । उता मोर्चा सम्बद्ध दलका सांसदहरु पनि संसदभित्र उभिएर नाराबाजी गरेका थिए । उपेन्द्र यादवको नाम सभामुखले बोल्नका लागि बोलाउनु भएपछि मोर्चासम्बद्ध सांसदहरु आफ्नो सिटमा आसनग्रहण गर्नुभयो ।

सभामुख घर्तीले बोल्नकालागि अध्यक्ष यादवको नाम बोलाउनुभएपछि कांग्रेसका सांसदहरु झन आक्रोशित भए । “प्रक्रिया मिच्न पाइँदैन, पहिले प्रमुख प्रतिपक्षीदलले बोल्न पाउनुपर्छ” भन्दै नाराबाजी गर्नुभयो । उता मोर्चा सम्बद्ध दलका सांसदहरु पनि संसदभित्र उभिएर नाराबाजी गरेका थिए ।

कांग्रेस सांसदहरुले विमलेन्द्र निधीलाई पहिले बोल्न दिनुपर्छ भन्दै हलभित्र हल्ला गर्नुभएपछि सभामुख घर्तीले कांग्रेस सांसदहरुलाई आसनग्रहणका लागि धेरै पटक आग्रह गर्नुभयो । “दलीय हिसावले बोल्न बोइलाएको हैन, हात उठाएर बोल्ने समय माग भएकाले यसमा मर्यादा कायम हुँदैन” भन्नुहुँदै सभामुखले कांग्रेस सांसदहरुलाई सम्झाउने प्रयास गर्नुभयो । उहाँको आग्रहलाई सांसदले सुनुवाई नगरेपछि सभामुखले अन्तिम पटकका लागि भन्दै आसनग्रहण गर्न आग्रह गर्नुभयो । तर कांग्रेस सांसदले नमानेपछि उहाँले बैठक १५ गते ११ बजे बस्नेगरी स्थगित गर्नुभयो ।

प्रक्रिया मिचियोः कांग्रेस

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सभामुख घर्तीले संसदीय प्रक्रिया मिचेको आरोप लगाउनुभयो । “संसदीय प्रक्रियाअनुसार प्रमुख प्रतिपक्षीदलका नेताले बोल्ने अभ्यास छ, त्यो अनुसार हाम्रा नेताले पहिले बोल्न पाउनुपथ्र्यौ तर सभामुखले प्रक्रिया मिच्नुभयो” श्रेष्ठले भन्नुभयो ।

“विहान प्रमुख सचेतकहरुसँगको बैठकमा कांग्रेस नेता विमलेन्द्र निधीलाई बोल्नदिने विषयमा सहमति बनेको थियो, तर बैठक शुरुभएपछि सभामुखले उपेन्द्र यादवको नाम बोलाउनुभयो” श्रेष्ठले भन्नुभयो । परम्परा र अभ्यासअनुसार जानुपथ्र्यो, सभामुखले जानीजानी त्यस्तो गर्नुभयो श्रेष्ठले आरोप लगाउनुभयो ।

कांग्रेस नेता विमलेन्द्र निधीले संसदमा प्रमुख प्रतिपक्षीदल कांग्रेस भएकाले पहिले बोल्न पाउनुपर्ने कांग्रेसको अधिकार रहेको बताउनुभयो । “संसदीय प्रणाली अनुसार हामीले बोल्नकालागि माग गरेका थियौं र हाम्रो त्यो अधिकार हो” भन्नुहुँदै नेता निधीले सभामुखले प्रतिपक्षीदललाई वेवास्ता गरेको आरोप लगाउनुभयो । “संसदीय पद्धतिको नम्स र अभ्यासलाई सभामुखले वेवास्ता गर्नुभयो” भन्नुहुँदै नेता निधीले सभामुखले सरकारको पक्षपोषण गर्नुभएको आरोप लगाउनुभयो ।

आवाज दबाउनु अनुचितः

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको अधिकार बन्दुकले दवाएर नदब्ने बताउनुभयो । “अहिलेको विद्यमान समस्या चाँडै समाधान होस्, मुलुकले निकास पाओस् भन्ने हाम्रो चाहना हो” भन्नुहुँदै उहाँले संसदमा त्यसै विषयमा धारणा राख्न खोजिएको बताउनुभयो । तर संसदमा हल्ला भएपछि धारणा राख्न नपाएको उहाँले गुनासो गर्नुभयो ।

“सरकारले मधेसी जनताको अवाज दवाउन सक्दैन, जनता जागेका छन्” भन्नुहुँदै अध्यक्ष यादवले सबै पक्षलाई अधिकार दिएरै समस्याको समाधान भएको बताउनुभयो । संसद बैठक स्थगित भएपछि बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले विगतमा भएको सम्झौताको कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

“तराईका पन्ध्र जिल्ला भारतमा गाभ्ने कुरा आएको छ, यसमा तपाईको भनाई के हो ?” भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले त्यो जवाफ सरकारले दिनुपर्ने बताउनुभयो । “मधेसीले मधेस भारतमा गाभ्न लाग्यो भन्नु गलत आरोप हो, सक्छौ भने युद्ध घोषणा गरेर लडाई लड, सक्दैनौ भने कुर्सी छाड” उहाँले सरकारलाई चेतावनी दिनुभयो । तर उहाँले मधेसी जनता अधिकार मात्र चाहेको प्रष्ट पार्नुभयो ।

प्रक्रिया मिचेको छैनः सभामुख

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीले आफूले कुनै प्रक्रिया नमिचेको प्रष्ट पार्नुभयो । संसद बैठकपछि पत्रकारसँग आफ्नै कार्यकक्ष नयाँ बानेश्वरमा कुरा गर्नुहुँदै सभामुख घर्तीले संसदको प्रक्रियाअनुसार नै उपेन्द्र यादवलाई बोल्ने समय दिइएको दावी गर्नुभयो ।

“विहान बसेको प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा यो वा त्यो व्यक्तिलाई बोल्न दिने विषयमा कुनै सहमति भएको थिएन, संसद बैठक शुरुभएपछि यादवले पहिलो हात उठाउनुभएकाले उहाँलाई बोल्न दिइकी हुँ” उहाँले प्रष्ट पार्नुभयो । “मधेसको समस्या अहिले बढी संवेदनशील र समाधान गर्नुपर्ने विषय भएकाले पनि समाधान होस् भन्ने हिसावले बोल्ने समय दिने निर्णय गरेको हुँ” बताउनुहुँदै उहाँले कांग्रेसले बोल्नेसमय आफूसँग नमागेको दावीगर्नुभयो ।

व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने तयारीमा रहेका मधेसी मोर्चा सम्बद्ध सांसदहरुले आसनग्रहण गर्नुभएपछि कांग्रेस सांसदले विरोध जनाएपछि विहिबारको संसद बैठक अवरुद्ध हुनुपुग्यो । यद्यपि मोर्चाका सांंसदहरुले उपेन्द्र यादवले धारणा राखिसकेपछि बैठक अवरुद्ध गर्ने योजना बनाएका थिए । संसदको अर्को बैठक १५ गते विहान ११ बजे मंगलबार बस्ने सभामुख घर्तीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया