संविधान संशोधन नहुँदासम्म संविधान दिवस मनाउँदैनौंः राजपा नेता महतो


भगतराम थारु
नेपालगन्ज, असोज ०२ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूहरुले उठाएको मागअनुसार संविधान संशोधन नहुँदासम्म दिवस मनाउन नसकिने बताउनुभएको छ । दुई तिहाईको सरकारले संविधान संशोधनमा चासो नदिएको उहाँले आरोप लगाउनुभयो ।

मंगलवार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतोले त्यस्तो बताउनुभयो । नेता महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन भएको बताउनुभयो । संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको कुरा उहाँले उल्लेख गर्नुभयो ।

संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गर्नुभयो ।

“सरकारलाई समर्थन गर्नु अपराध होइन दुई तिहाइको सरकारलाई अझ बलियो बनाउन हामीले समर्थन गरेका हौँ ।” महतोले भन्नुभयो, “साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।”

महतोले भन्नुभयो, “साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।”

आफुहरुका माग पुरा भएमा भोली नै सरकारमा सहभागी हुन तयार रहेको उहाँले बताउनुभयो । संविधान संशोधन लगायतका आफुहरुका माग पुरा नभएकाले सरकारलाई दिएको समर्थनका विषयमा अब धेरै समय पर्खन नसकिने उहाँको भनाई छ । उहाँले संविधान दिवसमा सम्पूर्ण नेपालीले उत्सव मनाउने वाताबरण हुनुपर्ने भएपनि अधिकांश जनता असमत भएको कारण संविधान दिवसको दिन राजपा पार्टी विरोध जनाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

संविधानको दिन पार्टीले नै दिनभरि विरोध कार्यक्रम र साँझा ब्ल्याकआउट कार्यक्रम गर्ने सार्वजनिक गरेको उहाँले बताउनुभयो । नेता महतो मंगलवार बर्दियामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा रहने र बुधवार असोज ३ गते कैलालीमा संविधान दिवसको विरोध गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया