नेकपाकी सचेतक शान्ता चौधरी किन भइन् एकाएक टु्ँडीखेलमै वेहास्


काठमाडौँ, असोज ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरी संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममै एकाएक बेहोस भएपछि उपस्थित अन्य पाहुनाहरु आत्तिएका थिए ।

चौथो संविधान दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुन टुँडिखेल पुग्नुभएकी नेकपा नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेपछि सोही स्थानमा सामान्य उपचार गरिएको थियो ।

चर्को घाम लागेको ठाउँमा केही समय बसेको र न्यून रक्तचापका कारण चौधरी बेहोस भएको चिकित्सकले बताएका छन् । उहाँको सचिवालयकाअनुसार लामो समयदेखि चौधरी न्यून रक्तचापले समस्यामा पर्नुभएको छ ।

गृह मन्त्रालयको आयोजना रहेको सो कार्यक्रममै सांसद बेहोस भएपछि सेनाको एम्बुलेन्स टुँडीखेल पुगेको थियो । सेनाको एम्बुलेन्समा आएका डाक्टरले शान्ताको जाँचा गरी औषधि दिएको थियो ।

केही समयको आरामपछि सांसद चौधरीलाई केही सुधार भएपछि डेरा पुगाइएको थियो । अहिले उहाँ घरमै आराम गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया