काठमाडौं, असोज ५ गते । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन नभएपछि गच्छदारका साथमा रहेका नेताहरु आत्तिएर पुरानै घरमा फर्किने तयारी गरेका छन् ।
पुरानो पार्टीलाई भानुराम थारु नेतृत्वको समूहले व्यूँताएपछि कांग्रेसमा नअटाएका नेताहरुलाई सो पार्टीमा फर्किन सहज हुने भएको छ । गच्छदारले २०७४ असोज ३० गते आफू नेतृत्वको दललाई कांग्रेसमा समायोजन गरेको घोषणा गरेका थिए । तर अहिलेसम्म कांग्रेससँग औपचारिक एकीकरण भने हुन सकेको छैन ।
काँग्रेस सभापति शेरबहादुरले देउवाले आज–भोली भन्दै एक वर्ष समय बिताइदिएका छन् तर समायोजन हुने कुराको टूङगो लागेको छैन । पार्टी समायोजनमा ढिलाई हुँदा गच्छदारसँग रहेका पार्टी नेताहरु आफ्नो बाटो लाग्ने सुरमा रहेको एक नेताले बताए ।
यसअघि भदौ २८ गते बस्ने कार्यसम्पादनको बैठकबाट लोकतान्त्रिक फोरमलाई समायोजन गराउने लगभग तय भएको थियो । तर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अमेरिका भ्रमणमा जानुभएपछि सो काम पनि स्थगित भएको थियो ।
तत्कालिन फोरमका कार्यालय सचिव परमानन्द मेहताले ‘पार्टी एकीकरणको मिति हालसम्म फिक्स नभएको बताउनुभयो । एकीकरणको ढिलाईले लोकतान्त्रिक फोरमका नेताहरु आत्तिन थालेको उहाँले बताउनुभयो ।
मंसिर ९ गते काँग्रेसको महासमिति बैठक तय भएको छ । त्यति बेलासम्म पनि पार्टी समायोजन भएन भने कोही बाँकी रहँदैन, मेहताले भन्नुभयो, काँग्रेस महासमितिको बैठक भन्दा उता जान सकिँदैन ।
सत्ताका लागि फोरम नेपाललाई विभाजित गरेर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका गच्छदारले पार्टीलाई १० वर्ष पनि टिकाउन सक्नु भएन । गच्छदारसँगै रामजनम चौधरी, योगेन्द्र चौधरी लगायतका नेताहरु कांग्रेसमा गएका छन् ।
काँग्रेसमा पार्टी प्रवेश गराएपछि असन्तुष्ट नेताहरु भानुराम थारुले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टीमा फर्केका छन् । मंसिरसम्म पनि पार्टी एकीकरण नभए धेरै नेता–कार्यकर्ताहरु त्यहीँ फर्केर पार्टी बनाउने तयारीमा देखिएका छन् । यद्यपि, नेता गच्छदारले अझै पनि विकल्प खोज्नमा हतार नगर्न आफ्ना नेताहरुलाई आग्रह गर्नुभएको सुन्नमा आएका छ ।