नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा एक मात्र थारु


काठमाडौं, असोज ५ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा एकजना मात्र थारु प्रतिनिधि समेटिएका छन् । भागवण्डाको राजनीतिका कारण थारु समुदायको प्रतिनिधि नसमेटिएको सो दलका थारुको टिप्पणी छ ।

सो पार्टीले सातै वटा प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह–इन्चार्ज टुंग्याएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको थियो ।

प्रदेश ७ बाट सचिवको जिम्मेवारीमा नेप चौधरी (सिंहराज चौधरी) छनौटमा परेका छन् । अन्य प्रदेशमा कुनै पदमा थारु अटाएनन् ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेदारी भीम आचार्यले पाएका छन् । आचार्य यसअघि पूर्व एमालेको पनि इन्चार्ज थिए ।

सह–इन्चार्जको जिम्मेवारी साबित्रीकुमार काफ्लेले पाएका छन् । उनी पूर्व माओवादी केन्द्रका हुन् । अध्यक्षको जिम्मेवारी पूर्व एमालेबाट देबराज घिमिरले पाएका छन् । सचिवको जिम्मेवारी सांसद सुरेश कुमार राईले पाएका छन् ।

प्रदेश नम्बर २ को इन्चार्जको जिम्मेवारी सत्यनारायण मण्डलले पाएका छन् । मण्डल यसअघि पूर्व एमालेको इन्चार्ज पनि थिए । अध्यक्षको जिम्मेवारी पूर्व माओवादीबाट प्रभू साहले पाएका छन् । यसैगरी सहइन्चार्जको जिम्मेवारी पूर्वमाओवादीबाट विश्वनाथ साह पाएका छन् । पूर्व एमालेबाट सचिव सुमन प्याकुरेल भएका छन् ।

प्रदेश नम्बर ३ को इन्चार्जको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । उनी पूर्व एमालेको इन्चार्ज थिइन् । अध्यक्षको जिम्मेवारी पूर्व माओवादीका हितमान शाक्यले पाएका छन् । सहइन्चार्जको जिम्मेदारी नारायण दाहालले पाएका छन् । दाहाल पूर्व माओवादी समुहका हुन् । सचिवको जिम्मेवारी पूर्व मन्त्री समेत रहेका आनन्द पोख्रेलले पाएका छन् ।

गण्डकी प्रदेशको इन्चार्ज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाएका छन् । यसअघि एमालेबाट सो प्रदेशको जिम्मेवारी किरण गुरुङले पाएका थिए । अध्यक्षको जिम्मेवारी पूर्व माओवादीबाट हितराज पाण्डेले पाएका छन् । सहइन्चार्जको जिम्मेवारी पूर्वमन्त्री खगराज अधिकारीले पाएका छन् भने सचिव गोविन्द नेपाली भएका छन् ।

प्रदेश ५ को इन्चार्ज मुख्यमन्त्री समेत रहेका शंकर पोखरेल भएका छन् । अध्यक्ष पूर्वसभामुख समेत रहेकी ओनसरी घर्ती भएकी छिन् । सहइन्चार्जको जिम्मेवारी दलबहादुर रानाले पाएका छन् । उनी पूर्व एमाले हुन् । सचिवमा जगप्रसाद शर्माले जिम्मेवारी पाए ।

कर्णाली प्रदेशको इन्चार्ज पूर्वमन्त्री समेत रहेका जनार्दन शर्मा भएका छन् । पूूर्वमन्त्री शर्मा पूर्व माओवादी हुन् । अध्यक्ष पूर्व एमालेबाट गोरखबहादुर बोगटी भए । सहइन्चार्जको जिम्मेवारी यमलाल कंडेलले पाएका छन् भने सचिव मयाप्रसाद शर्मा भएका छन् ।

प्रदेश ७ को इन्चार्जको जिम्मेवारी भीम रावलले पाएका छन् । अध्यक्ष पनि पूर्व एमालेबाट नै कर्ण थापा भएका छन् । सहइन्चार्ज पूर्व माओवादीका लक्ष्मणदत्त जोशी र सचिव नेप (सिंहराज) चौधरी भएका छन् ।

तपाईको प्रतिक्रिया