थाकसको २२ औं महाधिवेशनको तयारी पूरा, देउवाले आइतबार उदघाटन गर्ने


लक्की चौधरी
काठमाडौं, असोज ७ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको थाकसले जनाएको छ ।

महाधिवेशनको उदघाटनसत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने बन्दसत्र सोमबारदेखि गोशालास्थित शिवदर्शन पार्टी प्यालेसमा हुने तयारी गरिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । उहाँकाअनुसार कार्यक्रमको उदघाटन दिउँसो २ बजे प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।

यसअघिसम्म थाकस महाधिवेशनको उदघाटन प्रधानमन्त्री या सरकारी प्रतिनिधिले गर्ने परम्परा कायम थियो । महाधिवेशनको उदघाटन पहिलो पटक प्रमुख प्रतिपक्षीदलका नेताले गर्ने भएपछि थाकसमा नयाँ परम्पराको शुरुवात हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने विषयमा केन्द्रीय सचिवालयमा छलफल चले पनि प्रम ओली शनिबार राती नै संयुक्त राष्ट्र संघको महासभामा भागलिन अमेरिकातर्फ प्रस्थान गर्नुभएपछि अन्य सरकारी प्रतिनिधिलाई प्रमुख अतिथि बनाउने विषयमा थाकसले प्रयास नै नगरेको थाकसका अन्य पदाधिकारीहरुको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा अहिले सरकार रहेका बेला सरकारी पक्षकै प्रमुख अतिथि बनाइनुपर्ने छलफल पनि सचिवालयमा चलेको थियो । तर नेकपा थारुको माग मुद्दाप्रति सकारात्मक नरहेको भन्दै केही पदाधिकारीले गुनासो गरेका थिए । प्रमुख प्रतिपक्षीदल कांग्रेसले थारुको माग मुद्दा उठाउने भन्दै देउवालाई प्रमुख अतिथि बनाउने प्रस्ताव अध्यक्ष धनीराम चौधरीको थियो ।

तर केही पदाधिकारीले थारुको माग मुद्दा प्रतिपक्षीले सम्बोधन गर्न नसक्ने, माग सम्बोधनकालागि सरकारकै भर पर्नुपर्ने बाध्यात्मक अवस्था रहने भएकाले सरकारलाई बाइपास गरेर जानसक्ने अवस्था नरहेको सुझाव बैठकमा प्रस्तुत गरेका थिए । तर नेतृत्वले सो विषयको सुनुवाई नगरेपछि देउवाको पक्षमा निर्णय भएको एक पदाधिकारीले सुनाए ।

नेपालमा कम्युनिष्टको दुई तिहाईसहितको स्थायी सरकार गठन भएकाले थारुको माग मुद्दा सम्बोधनमा नेकपाकै सहकार्यविना सम्भव नरहेको भएपनि केही पदाधिकारीहरुले कांग्रेसकै पक्षपोषण गरेपछि देउवालाई प्रमुख अतिथि बनाउने निर्णय गरिएको हो ।

नेपालमा कम्युनिष्टको दुई तिहाईसहितको स्थायी सरकार गठन भएकाले थारुको माग मुद्दा सम्बोधनमा नेकपाकै सहकार्यविना सम्भव नरहेको भएपनि केही पदाधिकारीहरुले कांग्रेसकै पक्षपोषण गरेपछि देउवालाई प्रमुख अतिथि बनाउने निर्णय गरिएको हो । त्यसले थारु समुदायको माग मुद्दा सम्बोधन हुने नहुने अन्यौल रहने र गलत सन्देश जाने बुझाई केही पदाधिकारीको छ ।

तर युवाहरुको तर्क भने अर्कै देखिएको एक सचिवालय सदस्यले जानकारी गराए । कार्यक्रमको उदघाटन कुनै ब्राहण, क्षेत्री नेतासँग नगराई आदिबासी वा थारु वयोबुद्धबाट गर्नुपर्ने सुझाव युवाहरुको देखिएको ती पदाधिकारीले नाम नभन्ने शर्तमा बताए । थारु एकताको सन्देश दिन पनि थारु बयोबृद्धलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम उदघाटन गराइनुपर्ने सुझाव केही युवाहरुको सामाजिक सञ्जालमा पनि देखिने गरेको छ । तर नेतृत्वले सो सुझावलाई मनन गरेको देखिएन ।

तीन जनाबीच प्रतिस्पर्धाः
उदघाटनसत्र आइतबार दिनभरी चल्ने भएपछि बन्दसत्र सोमबार विहानबाट मात्र सुचारु हुने उपाध्यक्ष चौधरीले बताउनुभयो । अहिलेसम्म अध्यक्षकालागि पूर्व महामन्त्री राजकुमार लेखी, वर्तमान अध्यक्ष धनीराम चौधरी र चित्तवनका पूर्व सभापति विश्राम महतो प्रत्यासी देखिएका छन् । मैदानमा तीन जनाको नाम देखिए पनि प्रतिनिधि, पर्यवेक्षकहरुले भने चौथो साझा उम्मेदवारको खोजीमा रहेको टिकाटिप्पणी सुनिन थालेको छ ।

मैदानमा देखिएका तीनैजना उम्मेदवार थाकसकालागि शतप्रतिशत सही नभएकोभन्दै अन्य नयाँ अनुहारको खोजी भइरहेको एक युवा प्रतिनिधिले बताए । तर अर्को कोही उम्मेदवार तयार नभए तीन जनामध्येबाटै थाकसको आगामी नेतृत्व चयन गरिने अवस्था आउने ती युवाले बताए । ती युवाकाअनुसार तीन उम्मेदवारमध्ये थारुको मागमुद्दा बुझ्ने र निडर तथा संघर्षशील उम्मेदवार राजकुमार लेखी नै रहेका छन् । तर लेखीको पनि केही कमजोरी उनले औल्याएका छन् ।

नेता लेखी आदिबासी जनजाति महासंघको अध्यक्ष भएर नेतृत्व गरिसकेको, थाकसको पूर्व महामन्त्रीको जिम्मेवारी निर्वाह गरेको, निडर, जुझारु तथा थारु आन्दोलनलाई पटक पटक नेतृत्व गरेको भएपनि पछिल्लो समय उहाँ राजपा पार्टीमा भएकाले थारुको मुद्दालाई मधेसीकरण गर्ने पो हुन् कि ? भन्ने आशंका प्रतिनिधिमा रहेको सुनाए ।

तीन उम्मेदवारमध्ये थारुको मागमुद्दा बुझ्ने र निडर तथा संघर्षशील उम्मेदवार राजकुमार लेखी नै रहेका छन् । तर लेखीको पनि केही कमजोरी उनले औल्याएका छन् ।

अर्को उम्मेदवार वर्तमान अध्यक्ष धनीराम चौधरीका बारेमा टिप्पणी गर्दै उनले धनीरामको यो कार्यकाल असफल रहेको बताए । टीकापुर घटनापछि अध्यक्ष चौधरी सरकारको एरेष्ट वारेन्टमा रहेकाले लुकीछिपी हिड्नुपरेका कारण नेतृत्व गर्न कठिनाई भएको उनले सुनाए । एक कार्यकाल सफल हुन नसकेको व्यक्तिको अर्को कार्यकालमा सफल हुन्छ भन्ने सुनिश्चित्ता नरहेकाले धनीरामले अरु कसैलाई नेतृत्वकालागि सघाउनुपर्ने सुझाव ती युवाको छ ।

त्यस्तै, अर्का प्रत्यासी विश्राम महतोले आफू पदमा आएमा अहिलेसम्मका अध्यक्षले नगरेको काम गरेर देखाउने प्रतिवद्धता गरेपनि उहाँप्रति प्रतिनिधिको खासै विश्वास नदेखिएको युवाको विश्लेषण छ । अथवा अवको निर्वाचनमा मुख्यतः लेखी र धनीरामबीच प्रतिस्पर्धा हुने आँकलन उनले गरे ।

यद्यपि वर्तमान उपाध्यक्ष प्रेमीलाल चौधरीलाई पनि कसै कसैले उम्मेदवारकोरुपमा अगाडि बढ्न सुझाव दिइरहेको सुनिएको छ । तर उहाँसँग हमार पहुरा डट कमले सम्पर्क गर्दा नेतृत्वकालागि आफूले कुनै तयारी नगरेको बताउनुभयो । यद्यपि बन्दसत्रमा प्रतिनिधिहरुले सर्वसम्मत उम्मेदवार आफूलाई बनाए नेतृत्व गर्नबाट पछि नहट्ने चौधरीले सुनाउनुभयो । तर त्यो परिस्थिति बन्ने निकै न्यून सम्भावना देखिन्छ । उपाध्यक्ष चौधरीकालागि अन्य तीजना प्रतिस्पर्धी उम्मेदवारले सर्वसम्मतका लागि ठाउँ छाड्ने परिस्थिति बन्ने छाँट देखिदैन ।

भृकुटीमण्डबाट झाँकी
थाकसका केन्द्रीय सदस्य रामलाल चौधरीकाअनुसार आइतबार विहान ११ बजे भृकुटी मण्डपबाट झाँकी प्रदर्शन गरिने छ । भृकुटीमण्डपबाट शहिदगेट, एनएसी, रत्नपार्क हुँदै टुँडीखेलको एक फन्को लगाएर झाँकी र्याली सभागृहमा प्रवेश गर्नेछ । प्रमुख अतिथि देउवालाई दिनको २ बजेको समय थाकसले दिएकाले सो अघि झाँकी र्यालीको कार्यक्रम हुने चौधरीले बताउनुभयो । त्यसकालागि सबै भातृ संगठनलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया