थाकस महाधिवेशनः थारु माग मुद्दा सम्बोधन नभएको थारु अगुवाको गुनासो


काठमाडौं, असोज ७ गते । थारु अगुवाहरुले संविधानले थारुको पहिचान र अधिकारको आशा गरेजस्तो सम्बोधन नगरेकाले थप सम्बोधनको माग गरेका छन् । सरकारलाई थारुको अधिकारबारेमा गम्भीर बन्न ध्यानाकर्षण गरेका छन् ।

थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको उदघाटनसत्रमा आइतबार यहाँ थारु अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । थारुकालागि विशेष संरक्षित क्षेत्र, लोकसेवा आयोगसहित सरकारका अन्य निकायमा जनसंख्याको प्रतिशतको हिसावमा प्रतिनिधित्व, टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुको उचित छानविन गरी रिहाई लगायतको माग सम्बोधन गर्न अगुवाहरुले माग गरे ।

कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट गराउने तय भएको भएपनि उहाँको अस्वस्थताले उपस्थित हुन नसक्नु भएपछि भारतीय थारु कल्याण महासंघका अध्यक्ष दिपनारायण प्रसादलाई प्रमुख अतिथि बनाइएको थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले थारु एकताविना थारुको माग मुद्दा सम्बोधनको कुनै सम्भावना नरहेकाले संघर्षबाटै माग सम्बोधन गराउनमा लाग्न थारु समुदायलाई सुझाव दिनुभयो । थारु मधेसी एक भएमा सबै उत्पीडित वर्गको मुद्दा सम्बोधन गराउन सकिने भन्दै उहाँले दशै तिहारपछि राजपाले संसद र सडकमा एकसाथ आन्दोलनको अाँधीवेहरी ल्याउने चेतावनी दिनुभयो ।

थारु नेता राजकुमार लेखीले थारुको आन्दोलन शिथिलप्राय भएकैकारण थारुको अधिकार सम्बोधनमा सरकारले वेवास्ता गरेको भन्दै पुनःथारु समुदाय एकतावद्ध भएर जुर्मुराउन आवश्यक रहेको बताउनुभयो । थाकसको नेतृत्वको असक्षमताका कारण थारु आन्दोलन उठन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

पूर्व सांसद रुक्मिणी चौधरीले थारु कल्याणकारिणीसभाको नेतृत्वकैकारण केहीमात्रामा भएपनि थारुको माग मुद्दा सम्बोधन भएपनि अझै एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प नरहेको बताउनुभयो । इमान्दारितासाथ माग मुद्दाको सम्बोधनको माग गर्दा सरकारले सुनुवाई नगरेको उहाँले गुनासो गर्नुभयो ।

पूर्व राज्यमन्त्री तथा नेकपाकी महिला नेतृ भगवती चौधरीले नयाँ संविधानले थारुको पहिचान कायम गरेको भएपनि अधिकांश माग पूरा गर्न बाँकी रहेको बताउनुभयो । आगामी दिनमा थाकसको नेतृत्वले थारु समुदायलाई सचेत गराउँदै माग मुद्दा सम्बोधनको पहल गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

थाकसको अध्यक्ष धनीराम चौधरीलाई टीकापुर घटनापछि सरकारले पक्राउ आदेश गरेकाले उहाँको उदघाटनसत्रमा उपस्थिति भएन । थाकसका महामन्त्री अमिरीलाल चौधरीले अध्यक्ष चौधरीको शुभकामना सन्देश पढेर कार्यक्रममा सुनाउनुभएको थियो । सन्देशमा अध्यक्ष चौधरीले असुरक्षाकाकारण कार्यक्रममा उपस्थित हुन नसकेको प्रष्ट पार्नुभएको थियो ।

उपाध्यक्ष कनुलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा भारतीय थारु कल्याण महासंघका महामन्त्री सुरेन्द्र गडवाल, थारु नेतृ रामरति चौधरी, कानूनलाल थारु, डा. प्रमोद लामिछाने, डा.विष्णमाया खरेल, सत्यनारायण चौधरी लगायतले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा थरुहट आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका सञ्जित महतोको निशुल्क उपचार गरेकोमा चित्तवनका डा. प्रमोद लामिनाने र डा. विष्णुमाया खरेललाई सम्मान गरिएको थियो । त्यस्तै, सो अवसरमा समाजसेवी मझिलाल थनेट, सानु महर्जन, पूर्व मिस इन्टरनेशनल वर्षा लेखीलाइ पनि सम्मान गरिएको थियो ।

महाधिवेशनको बन्दसत्र सोमबारबाट शुरु हुने र नयाँ नेतृत्व चयन गर्ने थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । दिउँसो ¥याली झाँकीसहित शुरुभएको महाधिवेशनमा भागलिन २६ जिल्लाका गरी करिब साढे छसय प्रतिनिधि काठमाडौंमा सहभागी भएको थाकसले बताएको छ ।

उदघाटनसत्र निकै झुर व्यवस्थापनका कारण प्रतिनिधि तथा पर्यवेक्षकहरुको गुनासो चौतर्फी देखिएको थियो । कार्यक्रमस्थलमै रौतहट जिल्लाका प्रतिनिधिहरुले मुर्दावादको नारा लगाएका थिए । प्रतिनिधिहरुलाई दिनभरी पानी तथा खाजाको व्यवस्था नगरिएकाले दिनभरी भोकै पियासै बस्न बाध्यभएको एकजना प्रतिनिधिले गुनासो सुनाए ।

तपाईको प्रतिक्रिया