नेपालको समस्या आन्तरिकः नेता नेपाल


MK nepal

काठमाडौं, मंसिर १० गते । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद् खोसाले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा विहिबार विहान भएको भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

भेटमा दुबै देशका राजदूतले नेपालको संविधान निर्माण तथा त्यसको कार्यान्वयनको विषय नेपालको आन्तरिक मामिला भएको बताउनुभएको थियो । नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो देशको चाहना रहेको कुरा राजदूतहरुले नेता नेपालसँग राख्नुभएको थियो ।
संविधान कार्यान्वयन गर्ने समयमा नेपालका कतिपय स्थानमा देखिएको आन्दोलन एवम् अशान्तिलाई संबाद् र वार्ताको प्रक्रियाद्वारा हलगर्न नेपाल सरकार र राजनीतिक दलका नेताहरुलाई सफलता मिल्ने विश्वास राजदूतहरुले व्यक्त गर्नुभयो । पारवाहन अबरोधका कारण नेपालले अहिले भोगिरहेको इन्धन, औधषी लगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्या प्रति दुबै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धा राजदूतहरुले व्यक्त गर्नुभयो ।

पाकिस्तानी राजदूतले भौगोलिक अवस्थितिका कारण वाञ्छित सहयोग उपलब्ध गराउन कठिनाई हुने बताउनुभयो । त्यस्तै, बङ्गलादेशी राजदूतले सार्क शिखर सम्मेलनताका (१९ जुन, २०१५मा) प्रस्तुत भएको सार्कस्तरीय पारवाहन प्रस्ताव (बी.बी.आई.एन. मोटर भेहिकल एग्रिमेन्ट) को चर्चा गर्नुहुँदै बङ्गलादेश, भुटान, भारत र नेपाल बीच निर्वाध पारवाहनको लागि उक्त सम्झौता गरिएकाले लागू गरिनुपर्ने बताउनुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा छिमेकी मित्रहरु खुसी हुनुपर्ने बताउनुभएको थियो । नेपालभित्रका समस्याहरु आन्तरिकरुपमा हलगर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्न पनि उहाँले सो अवसरमा आग्रह गर्नुभयो । भेटले नेपाल र बङ्गलादेश तथा नेपाल र पाकिस्तान बीचको सम्बन्धलाई थप बलियो बनाउन योगदान पुग्ने विश्वास नेता नेपालले लिनुभयो ।

तपाईको प्रतिक्रिया