थाकसको बन्दसत्र ११ बजेदेखि गौशलामा, निर्वाचन परिणाम मंगलबार


हमार पहुरा समाचार
काठमाडौं, असोज ८ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको बन्दसत्र सोमबार ११ बजेदेखि गौशलाको शीवदर्शन पार्टी प्यालेसमा हुँदैछ । सोअघि विहान ९ बजेदेखि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तयारी भएको थाकसले जनाएको छ ।

केन्द्रीय कमिटी बैठकले महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, थाकसको मस्यौदा गरिएको परिमार्जित विधानका बारेमा छलफल गरी अनुमोदन गर्ने तयारी गरिएको एक पदाधिकारीले बताए । त्यस्तै, बैठकले विवादित जिल्लाका प्रतिनिधिका विषयमा समेत निर्णय गर्ने तयारी गरेको छ । केन्द्रीय कमिटीमा अनुमोदित प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिने छ ।

बन्दसत्र विहान ८ बजेदेखि शुरु गर्ने आइतबार प्रतिनिधिहरुलाई सूचना दिएको भएपनि कमजोर व्यवस्थापनका कारण विहान ११ बजेकालागि सारिएको छ । तर ११ बजे नै शुरुहुनेमा अझै प्रतिनिधिहरु विश्वस्त देखिदैनन् । विहानको खानापछि बन्दसत्र शुरु गर्ने तयारी पनि केही केन्द्रीय सदस्यहरुको छ । त्यसोगर्दा बन्दसत्र झन ढिलोगरी शुरु हुने र आज प्रतिवेदन बारेमै छलफल गर्दा राती पर्ने देखिएको प्रतिनिधिहरुको भनाई छ ।

उम्मेदवारको आफ्नै लविङ
२२ औं महाधिवेशनबाट थाकसको नेतृत्वमा आउन तीनजना उम्मेदवार मैदानमा देखिएका छन् । तर तीनजनामा मुख्य प्रतिस्पर्धा वर्तमान अध्यक्ष धनीराम चौधरी र पूर्व महामन्त्री राजकुमार लेखीबीच हुने आँकलन गरिएको छ ।

धनीराम चौधरी कार्यक्रमस्थलमै आउन नसक्ने भएपछि त्यसको फाइदा लेखीलाई पुग्ने देखिएको छ । यद्यपि अन्तिम समयमा धनीराम आइतबार एकछिनका लागि भएपनि उदघाटनसत्र स्थलमा झुल्किएका थिए । बन्दसत्रमा आउने नआउनेबारे अझै अन्यौल रहेको पदाधिकारीहरुको बुझाई छ ।

करिब अधाईसय मत रहेको थाकसको निर्वाचन मंगलबार विहानदेखि गर्ने तयारी गरिएको थाकस उपत्यकाका सभापति सुमन चौधरीले बताए । अहिलेसम्म आँकलन गर्दा लेखीको पल्ला भारी रहेको मतदाताहरुको आँकलन छ । हमार पहुरा डट कमको सर्वेक्षणअनुसार राजकुमार लेखीको पक्षमा ६० प्रतिशत मत देखिएको छ । धनीराम चौधरीको पक्षमा ३५ र अर्का उम्मेदवार विश्राम महतोको पक्षमा ५ प्रतिशत मत देखिएको छ ।

धनीराम चौधरीलाई पश्चिमको केही जिल्लाको मत जाने देखिन्छ भने पूर्वदेखि पश्चिमसम्मै लेखीको पक्षमा मत जाने आँकलन मतदाताहरुको छ । तीनैजना उम्मेदवारले आफ्नो पक्षमा मत पार्ने कसरतमा देखिएका छन् । यद्यपि मतदाताहरु कसलाई मत दिने बारेमा मनमा निर्णय गरिसकेको देखिन्छ ।

कार्यक्रमस्थलमा धर्ना
सप्तरी र रौतहट जिल्ला गठन र प्रतिनिधिको विषयमा असन्तुष्ट दुवै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुले गौशलाको बन्दसत्र हुने कार्यक्रम अघि धर्ना तथा प्रदर्शन गरिरहेका छन् । न्यायोचित निर्णय हुनुपर्ने मागसहित दुवै जिल्लाका प्रतिनिधिले धर्ना बसेपछि विवाद सल्टाउन केन्द्रीय कमिटीलाई दवाव परेको छ । विवाद सल्टाउन समयमा नसके बन्दसत्र कार्यक्रम थप लम्बिनु देखिएको छ । रौतहटका प्रतिनिधिहरुले आइतबारको उदघाटनसत्रमा समेत प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया