काठमाडौं, असोज ९ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनले मंगलबार (आज) रातीसम्म नयाँ नेतृत्व पाउने भएको छ । साँझ ५ः३० बजेबाट शुरुहुने मतदान प्रक्रियापछि राती १० बजेसम्म नयाँ नेतृत्वको चयन भइसक्ने निर्वाचन मण्डलका सदस्यले बताएका छन् ।
यसअघि २०७१ असोज २८ देखि ३० गतेसम्म झापामा भएको २१ औं महाधिवेसनबाट धनीराम चौधरी निर्वाचित हुनुभएको थियो । करिब चार वर्ष थाकसको नेतृत्वमा रहेका चौधरी पुनः अध्यक्ष पदको प्रत्यासी रहनु भएपनि उहाँको पक्षमा प्रतिनिधि नदेखिएको एक प्रतिनिधिले बताउनुभयो । यद्यपि चौधरीको प्रतिस्पर्धा लेखीसँग रहेको उहाँको बुझाई छ ।
निर्वाचन मण्डलले सार्वजनिक गरेको सूचनाअनुसार १६६ जना मतदाता रहेका छन् । विभिन्न २६ जिल्लाबाट आएका प्रतिनिधिहरुसँग तीनजना उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न लविङ थालेका छन् । धनीराम चौधरीको बन्दसत्र स्थलमा भौतिकरुपले उपस्थिति छैन । उहाँको पक्षमा अन्य प्रतिनिधिहरुले भोट मागिरहेका छन् ।
अर्का दुई उम्मेदवार राजकुमार लेखी र विश्राम महतो बन्दसत्र स्थलमै मतदातासँग विभिन्न आश्वासन र प्रतिवद्धता जनाउँदै मत आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन मण्डलका सदस्य गीता चौधरीका अनुसार साँझ ५ः३० देखि ८ः३० सम्मको समयलाई मतदानको समय तय गरिएको छ । निर्वाचन लगत्तै मतगणनाको काम पनि सोही स्थलमा गरिने आयोजकको तयारी छ ।
अध्यक्षका प्रत्यासी लेखीले आफ्नो जित सुनिश्चित भइसकेको दावी गरेका छन् । लेखी पक्षका एक नेताकाअनुसार १६६ मत मध्ये बढीमा १५० मत खस्ने र सो मध्ये १०० मत लेखीलाई आउने छ । बाँकी ५० मतमा धनीराम चौधरी र विश्राम महतोबीच प्रतिस्पर्धा हुने ती नेताको बुझाई छ ।
तर धनीराम पक्षका एक प्रतिनिधिकाअनुसार धनीरामको प्रतिस्पर्धा लेखीसँग नभई विश्राम महतोसँग रहेको छ । लेखीको पक्षमा मतै नरहेको वल्की विश्राम महतो र धनीरामबीच प्रतिस्पर्धा हुँदा धनीराम सहजै जित्ने दावी ती प्रतिनिधिको छ । यसलाई लेखी पक्षका प्रतिनिधिले हास्यास्पद भनेर टिप्पणी गरेका छन् ।
अध्यक्षका प्रत्यासी धनीराम चौधरीलाई एक कार्यकालको परीक्षण भइसकेको असफल नेतृत्वको आरोप लागेको छ । थाकसको अध्यक्ष भएर लुकेर बस्ने डरछेरुवा, अरुको इसारामा चल्ने नेतृत्वको आरोप धनीरामले खेप्नु परेको छ । तर त्यसलाई खण्डन गर्दै अध्यक्षका प्रत्यासी चौधरीले परिस्थितिबस आफूलाई लुक्नु परेको र आफू निर्वाचित भएमा आगामी दिनमा नयाँ टिमलाई सशख्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।
त्यस्तै, नेता लेखीलाई मधेसीको पार्टी राजपामा रहेकाले थारुलाई मधेसीकरण गर्ने पो होकी ! भन्ने आरोप लगाइएको छ । तर त्यसको अध्यक्ष लेखीले खण्डन गर्नुभएको छ । थारुको मागमुद्दामा राजपाले कुनै हस्तक्षेप गरेमा एक मिनेट पार्टीमा नबस्ने प्रतिवद्धता नेता लेखीको छ । उहाँले आफू अध्यक्षमा निर्वाचित भएमा पश्चिमको थारुलाई महामन्त्री बनाउने उदघोष गर्नुभएको छ । एक कार्यकाल आफूलाई निर्वाचित गर्न उहाँले प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको छ ।
सोहीअनुसार अर्का उम्मेदवार विश्राम महतोले दुबैजना नेतृत्वको परीक्षण थाकसमा भइसकेकाले आफूले अवसर पाउने विश्वास राख्नुभएको छ । आफू निर्वाचित भएमा थाकसको भवन काठमाडौंमा बनाउने, थारु समुदायको आन्दोलनलाई नयाँ चरणबाट अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ । तर उहाँलाई प्रतिनिधिहरुले अपरिपक्व र नेतृत्व लिने ‘हाइट’ अझै नपुगेको आरोप प्रतिनिधिहरुको छ ।
थाकसले अधिवक्ता रामराज चौधरीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । त्यसमा अधिवक्ताद्वय श्रवणकुमार चौधरी र गीता चौधरी सदस्य छन् । थाकसमा निर्वाचित नयाँ कार्य समितिको विधानअनुसार तीन वर्षे कार्यकाल तय गरिएको छ ।
हेर्नुहोस् निर्वाचन कार्यतालिका