थारु कल्याणकारिणीसभाले तिहारपछि संघर्षको कार्यक्रम सार्वजनिक गर्ने


काठमाडौं, असोज ११ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले दोस्रो केन्द्रीय समितिको बैठक बसी तिहारपछि संघर्षको कार्यक्रम गर्ने बताएको छ । त्यसकालागि कात्तिक १६ र १७ गते बैठक आव्हान गरिएको केन्द्रीय सदस्य मिनराज थारुले बताउनुभयो ।

२२ औं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको घोषणापत्र सार्वजनिक गर्नेक्रममा विहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा थाकसले सो जानकारी गराएको हो । थाकसको महाधिवेशन असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा भएको थियो ।

पत्रकार सम्मेलनमा सभाका केन्द्रीय सदस्य कन्नुलाल चौधरीले संविधानले थारु, मधेसी, दलित तथा मुस्लिम समुदायका माग मुद्दा सम्बोधन नगरेको दाबी गर्दै थाकसले संघर्षको कार्यक्रम गर्ने तयारी गरेको बताउनुभयो ।

संविधानले थारुको माग मुद्दा सम्बोधन नगरेर राज्यले विगतका दिनहरुमाजस्तै आज पनि सौतेनी व्यबहार गरिरहेको छ भन्दै पूर्व उपाध्यक्षसमेत रहनुभएका चौधरीले टीकापुर घटनालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

जनताबाट अत्यधिक मत ल्याएर कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी, टीकापुर घटनापछि सरकारी पक्राउपूर्जी जारी भएपछि अर्ध–भूमिगत रहनुभएका सभाका अध्यक्ष धनिराम चौधरीलगायत तीनसय बढि नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेज गर्न थाकसले माग गरेको छ ।

टिकापुर घट्नालाई राजनीतिक कोणबाट सम्बोधन गर्न पहल गर्नुपर्ने, थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग सरकारले गरेको सम्झौताको कार्यान्वयन हुनुपर्ने, पहिचानका पाँच र सामथ्र्यका ४ आधारमा तराईमा तीन प्रदेश बनाइनुपर्ने, टिकापुर घट्नाका बारेमा अध्ययन गरी तयार भएको प्रतिवेदन सार्वजनिक गर्न थाकसले माग गरेको छ ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित सदस्यहरुको सहभागिता रहेको थियो तर अध्यक्ष धनीराम चौधरी भने अनुपस्थित हुनुहुन्थ्यो । अध्यक्षको यही निस्क्रियता र डरप्रति सर्वसाधारण थारुले विमति रहेको थारु सदस्यहरुको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया