प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी गोदावरी बहुमतले पारित


धनगढी, असोज १२ गते । संसदीय समितिको सिफारिसमा प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी ‘गोदावरी’ रहनेगरी प्रदेश संसद बैठकबाट पारित भएको छ ।

प्रदेशको नाम र राजधानी सिफारिसका लागि सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित समितिले संसद बैठकमा प्रस्ताव प्रस्तुत गरेको थियो । शुक्रवार बसेको प्रदेश ७ को संसद बैठकको दुईतिहाइ बहुमतबाट प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ स्थित तेघरीमा राख्ने निर्णय गरेको हो ।

संसदीय समितिका संयोजक तामाङले समितिको प्रस्ताव पासका लागि बैठकमा पेश गर्नुभएपछि दुईतिहाइ बहुमतले उक्त प्रस्ताव पारित भएको थियो । प्रदेश ७ मा नेकपाको दुईतिहाइ बहुमत छ ।

तर समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले असहमति जनाएका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ गरी १४ जना प्रदेश सभा सदस्यहरुले बैठक वहिष्कार गरेका थिए ।

प्रदेश सभामा थारुको संख्या कम भएकाले थारुले माग गर्दैआएको प्रदेशको नाम थरुहट प्रदेश हुनसक्ने सम्भावना नरहेकाले थारुहरु मौन बसेका हुनसक्छन् ।

प्रदेशको नाम र राजधानीमा सहमति नजुटेपछि संसदको बहुमतले टुंगो लगाएको थियो । प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’कायम गर्ने पक्षमा ३८ मत खसेको थियो । त्यस्तै विपक्षमा रहेका १४ सांसदले मतदान   गरेनन् ।

प्रदेश ७ मा ५३ जना सांसद रहेकोमा प्रदेशको नाम र राजधानी पारित गर्न ३६ मत भए पुग्थ्यो । तर २ मत बढी अर्थात पक्षमा ३८ मत खसेको थियो ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका थारुले प्रदेशको नाम र राजधानीका विषयमा खासै चासो राखेको देखिएन । कैलालीका थारु अगुवाले स्थायी राजधानी डोटीको दिपायल बनाउन माग गरेको भएपनि प्रदेशको नाममा कुनै ठोस प्रस्ताव अघि सारेका थिएनन् । प्रदेश सभामा थारुको संख्या कम भएकाले थारुले माग गर्दैआएको प्रदेशको नाम थरुहट प्रदेश हुनसक्ने सम्भावना नरहेकाले थारुहरु मौन बसेका हुनसक्छन् ।

तपाईको प्रतिक्रिया