उपत्यकामा बस्ने थारु महिलाले जितिया पर्वको अवसरमा भव्य कार्यक्रम गर्ने


काठमाडौं, असोज १४ गते । पूर्वी तराईका थारु महिलाहरुको पर्व जितिया भव्यरुपमा मनाउन उपत्यकामा बासोबास गर्ने थारुहरुले तयारी थालेका छन् । आउने मंगलबार जितिया पर्व उपत्यकासहित तराईका जिल्लामा मनाउने तयारी गरिएको छ ।

थारु महिलाहरु निराहर व्रत बसेर परिवारका सदस्यहरुको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यो पर्व मनाउँछन् । जितियामा सूर्य भगवानको व्रत तथा उपासना महिलाले गर्छन् । राजधानीमा बस्ने थारु महिलाहरुले छुट्टाछुट्टै स्थानमा जितिया पर्व मनाउने तयारी गरेको संस्थाका सदस्यहरुले जानकारी दिनुभयो ।

थारु कल्याणकारिणीसभा अन्तर्गतको भातृ संगठन थारु महिला सभाले १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा जितिया पर्व भव्यरुपमा मनाउने तयारी गरेको सभाकी अध्यक्ष तारा चौधरीले बताउनुभयो । सो कार्यक्रमको उदघाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको सभाले जनाएको छ ।

त्यस्तै, थारु महिला समाज नामक स्वतन्त्र संस्थाले जितियाको अवसरमा कार्यक्रमको तयारी थालेको समाजकी अध्यक्ष गीता चौधरीले बताउनुभयो । उहाँकोअनुसार समाजले बानेश्वरस्थित बानेश्वर वैङ्क्वीटमा कार्यक्रमको आयोजना गर्दैछ । सो कार्यक्रमको उदघाटन उपसभामुख डा.शिवमाया तुम्वाहाङफेले गर्ने तय भएको समाजले बताएको छ ।

सोहीअनुसार मंगलबार नै थारु सांस्कृतिक संगीत विकास मञ्चले पनि जितियाको अवसरमा कार्यक्रम गर्ने तयारी गरेको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै जितियाको कार्यक्रमबारे जानकारी गराएको छ । मञ्चल राष्ट्रिय नाचघर जमलमा कार्यक्रम गर्ने तयारी गरेको मञ्चका अध्यक्ष उपेन्द्रकुमार चौधरीले बताउनुभयो ।

जितिया पर्वमा महिलाहरुले सूर्य भगवानको प्रतीककोरुपमा जीतमहानको पूजा गर्छन् । सूर्य भगवानको पुत्रकोरुपमा जीतमहानलाई पूजा गर्नेगरेको मञ्चका अध्यक्ष चौधरीले बताउनुभयो । पत्रकार सम्मेलनमा अधिवक्ता महेश्वरप्रसाद चौधरी, नेपाल मण्डलका पदम श्रेष्ठ लगायतले जितिया पर्वको अवसरमा शुभकामना दिनुभएको थियो ।

जितिया कार्यक्रममा सूर्य भगवानका पुत्र जीतमहानको मूर्तिमा पूजापाठ गर्नुकासाथै थारु भाषा, संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमको आयोजना हुने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया