टीकापुर घटनामा पक्राउ परेकालाई राजनीतिक रुपमै सल्टाउनुपर्छः नेता लेखी


सुनिल चौधरी
झुम्का, असोज १४ गते । थारु समुदायको अधिकारका लागि गरेको थरुहट थारुवान आन्दोलका क्रममा भएको टीकापुर घटनामा पक्राउ परेकाहरुलाई राजनीतिक तवरबाट रिहाई गर्न नेता राजकुमार लेखीले माग गर्नुभएको छ ।

राजनीतिक अधिकार प्राप्तीका क्रममा २०७२ भाद्र ७ गते भएको घटना भएकाले झुठामुद्दा तत्काल खारेज गरी राजबन्दीको रिहाईको माग लेखीले गर्नुभयो । जितिया पर्वको अवसरमा रामधुनी ४ मा महिला सभाले गरेको कार्यक्रममा लेखीले त्यस्तो माग गर्नुभयो ।

थारु कल्याणकारिणीसभाको २२ औं महाधिवेशनमा १२ मतले धनीराम चौधरीसँग पराजित नेता लेखी १२ गतेदेखि झापादेखि कञ्चनपुरसम्मको अभियान तय गर्नुभएको छ । सोही अभियानको क्रम नेता लेखी सुनसरीको रामधुनी आइपुग्नेभएको छ ।

नयाँ संविधानले अझै थारुको माग मुद्दा सम्बोधन नगरेकाले राजनीतिक अधिकार प्राप्तीको संघर्ष जारी रहने भन्दै नेता लेखीले लक्ष्मण थारु, रेशम चौधरी, विश्राम चौधरी, रामप्रसाद चौधरी लगायतमाथि लगाइएको झुठामुद्दा तत्काल खारेज गर्न राज्यसँग माग गर्नुभयो ।

गाउँ गाउँमा थारु महिलाहरु जितिया पर्व मनाईरहेको र थारु अधिकारको विषयमा वहस गरिनु थरुहट थारुवान आन्दोलनकै उपज भएको नेता लेखीले बताउनुभयो । रामधुनी नगरपालिकाको मेयर र उपमेयर थारु नै भएकोमा खुशी व्यक्त गर्दै नेता लेखीले थारुको माग सम्बोधनमा भूमिका खेल्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया