जितिया पर्वमार्फत थारुको हकअधिकारको माग गर्दै थारु महिला


कुलदिप चौधरी
सुनसरी, असोज १५ गते । थारु समुदायका महिलाहरुको प्रमुख पर्व जितिया मार्फत थारु महिलाले नयाँ संविधानमा थारुको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । जितिया पर्व मंगलबार तराईका थारु तथा मधेसी समुदायले धुमधामसाथ मनाउँदै छन् ।
जितियाको पूर्व संन्ध्यामा सोमबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा पनि थारु महिलाले सो माग राखेका थिए । थारु महिला सभा सुनसरीको आयोजनामा भएको कार्यक्रममा महिला तथा अन्य वक्ताले पनि सो माग राखेका थिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थारु महिलाले थारुको माग मुद्दामा सचेत हुन नेता गच्छदार तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

थारुको पहिचान झल्किने पर्व जितिया भएकाले थारु परम्पराअनुसार जितिया पर्वलाई मनाउने गरेको सभाकी अध्यक्ष सुशीला लेखीले बताउनुभयो । सो कार्यक्रममा कानून व्यवसायी रामराज चौधरी, महिला नेतृ सीता थरुनी चौधरी लगायतले जितिया पर्वको महत्व र थारु अधिकारका विषयमा बोल्नुभएको थियो ।

जितिया पर्वमा थारु विवाहित चेलीहरुले आफ्नो सन्तान तथा परिवारका सदस्यहरुको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बसेर मनाउँछन् । जितिया पर्वको तयारी पूरा भएकाले मंगलबार उपत्यकासहित पूर्वी तराईका जिल्लामा थारु महिलाहरुले सो पर्व धुमधामसाथ मनाउँदैछन् ।

तपाईको प्रतिक्रिया