सभामुख र जापानी राजदूतबीच भेटवार्ता


काठमाडौं, मंसिर ११ गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती र नोलका लागि जापानका राजदूत मसाशी ओगावाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शुक्रबार दिउँसो भएको दुईपक्षीय भेटवार्तामा राजदूतले सभामुख घर्तीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा राजदूत ओगावाले नेपाललाई जापान सरकारको तर्फबाट हुने सहयोगलाई निरन्तरता दिंदै भूकम्प पीडितको पुनस्र्थापनाकालागि पनि सहयोग जारीराख्ने प्रतिवद्धता गर्नुभएको थियो ।

नेपालको समग्र विकासका लागि जापानी प्रविधिको सदुपयोग गर्नसके नेपाललाई बढी फाइदा हुने विश्वास व्यक्त गर्नुहुँदै राजदूत ओगावाले जापान र नेपालको संसदबीचको मित्रतालाई सभामुख घर्तीको कार्यकालमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल जापान फ्रेन्डसिप लिगका अध्यक्ष केही दिनमै नेपालको भ्रमणमा आउने पनि राजदूतले जानकारी गराउनुभयो ।

राजदूत ओगावाले पुनरनिर्माण प्राधिकरण विधेयक सम्बन्धमा समेत चासो राख्नुभएको सभामुखका निजीसचिव सुरजकुमार दुराले जानकारी दिनुभयो ।

सो अवसरमा सभामुख ओनसरी घर्तीले भूकम्पपछि जापान सरकारले पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो । जापानले जाइकाको माध्यमबाट विभिन्न क्षेत्रमा गरेको सहयोग प्रसंशनीय रहेको सभामुख घर्तीले बताउनुभयो । दुई देशबीचको सम्बन्धलाई सुमधुर कायम राख्दै थप उचाईमा पु¥याई सहयोगात्मक सम्बन्ध कायम राख्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटघाटका क्रममा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको सहभागिता रहेको निजी सचिव दूराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया