माइक्रो बस र ट्रक ठोक्किदा चालक चौधरीसहित छ जनाको मृत्यु


दाङ, असोज २० गते । दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि हिडेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा चालक बलीराम चौधरीसहित ६ जनाको मृत्यु भएको छ।

शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ अगैया जंगलमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।

हायस र ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा मृत्यु हुनेमध्य तीन जनाको सनाखत भएको छ । सनाखत भएकोमा गाडी चालक तुलसीपुर उपमहानगरपालिकाका बलिराम चौधरी, यात्रु तुलसी रावत र बसन्ती चौधरी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १८ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हायसले अगैयाको जंगलमा बसलाई उछिन्न खोज्दा लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया