पूर्व आइजिपी खरेलको पुस्तकको प्रसङ्गप्रति पूर्व गृहमन्त्री गौतमको आपत्ति


लक्की चौधरी
काठमाडौं, असोज २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले पूर्व प्रहरी महानिरिक्षक (आइजिपी) अच्युतकृष्ण खरेलको शनिबार सार्वजनिक आत्मकथा पुस्तकमा आफूलाई जोडेर आएको विषयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ ।

पूर्व आईजिपी खरेलले आत्मकथाको २६७ पृष्ठमा ‘आइजिपी यात्राको पहिलो इनिङ’ शीर्षक अन्तर्गत तत्कालिन गृहमन्त्री गौतमले एक पत्रकार मार्फत २० लाख रुपियाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको प्रसङ्ग जोड्नु्भएको छ । पुस्तकमा उल्लेखित सो प्रसङ्ग निराधार, झुठ र आफ्नो राजनीतिक चरित्रहत्या गर्नेगरी आएको नेता गौतमले बताउनुभयो ।

पुस्तकमा लेखिएको छ, “वामदेवसँग मेरो चिनापर्ची थिएन । उहाँको मप्रति धारणा के हो, थाहा थिएन । आइजिपी नियुक्ति बेला उहाँले पत्रकारमार्फत २० लाख रुपियाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको थिएँ । त्यही कुरामा रिसिइबी साँधेर बस्नुभएको छ कि भन्ने सोंच पनि आयो ।”

पूर्व आइजिपी खरेलले लेख्नुभएको आत्मकथा पुस्तकमा मलाई जोडिएको प्रसङ्ग विल्कुल सस्तो लोकप्रियताका लागि उठाइएको विषय हो, २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? म खरेललाई पुष्टि गर्न चुनौति दिन्छुँ ।

पुस्तकको सो प्रसङ्गप्रति आपत्ति जनाउँदै नेता गौतमले गोरखापत्रस्ँग कुरा गर्दै भन्नुभयो, “पूर्व आइजिपी खरेलले लेख्नुभएको आत्मकथा पुस्तकमा मलाई जोडिएको प्रसङ्ग विल्कुल सस्तो लोकप्रियताका लागि उठाइएको विषय हो, २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? म खरेललाई पुष्टि गर्न चुनौति दिन्छुँ ।” पुस्तक पूर्वाग्रही ढङ्गले आफ्नो राजनीतिक चरित्रहत्या गर्नेगरी आएको नेता गौतमले गुनासो गर्नुभयो ।

आईजिपी खरेललाई परिवर्तन गर्ने पार्टीको निर्देशन थियो, पार्टीको निर्देशनअनुसार नै उहाँलाई आफूले अन्यत्र सार्ने प्रस्ताव तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकहाँ लगेको नेता गौतमले स्मरण गर्नुभयो । “खरेलसँग मेरो कुनै रिसराग र दुरासययुक्त भावना थिएन, पार्टीको निर्देशनको पालना गर्दै उहाँलाई सरुवा गरिएको थियो” गौतमले भन्नुभयो ।

“स्थानीय तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थिति त्यसबेला आइलागेको थियो, तत्कालिन आइजिपी खरेलसँग सो विषयमा परामर्श गर्दा निर्वाचन गराउन समय लाग्ने र खर्च पनि बढी लाग्ने प्रस्ताव उहाँले ल्याएपछि खरेललाई सरुवा गरेर सक्षम व्यक्तिलाई ल्याउने निर्णय त्यतिबेला सरकारले तयारी गरेकै हो” उहाँले सुनाउनुभयो । नेता गौतमकाअनुसार खरेलले तत्कालिन स्थानीय निर्वाचनका लागि ६० करोडको प्रस्ताव गर्नुभएको थियो तर निर्वाचन गराउँदा ४५ करोड रुपियाँ पनि खर्च भएन ।

पुस्तक बदलाको भावनाले ग्रसित छ, अराजनीतिक ढंगले मेरो चरित्रहत्या गर्नेगरी ल्याइएको छ, पुस्तकमा प्रकाशित विषय लेखकले सच्याउनुपर्छ” नेता गौतमले भन्नुभयो ।

“आफू गृहमन्त्री रहँदा पार्टीको निर्णयअनुसार २० दिनभित्र आइजिपी खरेललाई हटाउने निर्देशन थियो, त्यसैको परिपालना गरेको मात्र हुँ, मेरो खरेलसँग कुनै रिसइवी थिएन, पैसा माग्ने कुरा त कल्पना भन्दा बाहिरको कुरा हो” नेता गौतमले बताउनुभयो ।

“सरकारले दुई महिनाभित्र स्थानीय चुनाव गर्ने निर्णय गरेको थियो, आइजिपी खरेलले छ महिना समय लाग्ने प्रस्ताव ल्याउनुभयो । हामीसँग २५–३० करोड रुपियाँमा निर्वाचन गराएको अनुभव थियो, उहाँले ६० करोड रुपियाँको प्रस्ताव ल्याउनुभयो । कांग्रेसको निर्देशनअनुसार काम गरेको अनुभूति भएपछि उहाँलाई हटाउने निर्णय भएको थियो” नेता गौतमले प्रष्ट पार्नुभयो ।

“कुन पत्रकारले उहाँसँग २० लाख रुपियाँ माग्यो, त्यसको नाम दिन सक्नुपर्छ” भन्दै नेता गौतमले आइजिपी खरेलले विना आधार, गलत ढंगले पुस्तक प्रकाशन गरेको टिप्पणी गर्नुभयो । पुस्तक बदलाको भावनाले ग्रसित छ, अराजनीतिक ढंगले मेरो चरित्रहत्या गर्नेगरी ल्याइएको छ, पुस्तकमा प्रकाशित विषय लेखकले सच्याउनुपर्छ” नेता गौतमले भन्नुभयो ।

तर यता लेखक खरेलले पुस्तकमा समेटिएका विषय सन्दर्भसामग्री र भन्ने व्यक्तिसमेतको भनाई राखिएकाले लेखिएको विषय सत्य रहेको दावी गर्नुभयो । गोरखापत्रसँग कुरा गर्नुहुँदै खरेलले भन्नुभयो, “मैले देखेको भोगेको प्रसङ्ग पुस्तकमा जस्ताकोतस्तै उतारेको छुँ, कसैलाई चित्त बुझ्दैन भने मेरो भन्नु केही छैन, खण्डन गर्नुपर्ने आवश्यकता पनि छैन ।”  तर खरेलले २० लाख रुपियाँको प्रस्ताव लिएर आउने पत्रकारको नाम भने खुलाउन मान्नु भएन ।

तपाईको प्रतिक्रिया