देश र जनतालाई मेरोभन्दा वामदेव गौतमको खाँचो छः सांसद मानन्धर


काठमाडौं, असोज २३ गते । काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचिन प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामविर मानन्धरले पार्टीको निर्णयपछि बुधबार पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

सो क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउन आफूले पार्टीको निर्णयअनुसार राजीनामा गर्न लागेको उहाँले बताउनुभयो । मंगलबार यहाँ पत्रकार सम्मलन गर्दै सांसद मानन्धरले त्यस्तो बताउनु भएको हो ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता गौतमको संसदमा आवश्यकता महशुस गरी आफूले ठाउँ खाली गर्न लागेको सांसद मानन्धरले प्रष्ट पार्नुभयो । देश र जनतालाई मेरोभन्दा नेता गौतमको खाँचो छ भन्दै उहाँले पदमा नरहे पनि आफूले सो क्षेत्रको विकासमा लागि रहने प्रतिवद्धता जनाउनुभयो ।

“काठमाडौं क्षेत्र नं. ७ को विकास र समृद्धिमा जति नेता गौतमले भूमिका खेल्न सक्नुहुनेछ, त्यति मैले गर्न सक्दिनँ, राष्ट्रिय राजनीतिमा पनि उहाँको आवश्यकता खड्किएकाले मैले ठाउँ खाली गर्ने निर्णयमा पुगेको हुँ” सांसद मानन्धरले भन्नुभयो । सो क्षेत्रका जनताको विश्वास टुटन नदिन पदमा नरहे पनि त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने उहाँले बताउनुभयो ।

राजीनामाका लागि आवेदन आफूले पार्टीमा दिइसकेकाले बुधबार बस्ने पार्टीको सचिवालय बैठकले त्यसको अनुमोदन गर्ने सांसद मानन्धरले बताउनुभयो । “पार्टीको निर्णयलगत्तै म सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामापत्र बुझाउने छुँ” मानन्धरले भन्नुभयो, “पार्टीको निर्णय र मेरो सहमतिअनुसार पदबाट राजीनामा दिने निर्णयमा पुगेको हुँ, कसैको दवाव र प्रभाव छैन ।”

तपाईले राजीनामा दिए सो क्षेत्रमा नेता गौतम निर्वाचित हुने के सुनिश्चित्ता छ ? पत्रकारको जिज्ञासामा सांसद मानन्धरले भन्नुभयो, “पार्टीका लागि यत्रो भूमिका खेल्नुभएको राष्ट्रियस्तरका नेतालाई पराजित गर्ने कुरै हुँदैन, उहाँलाई जिताउन म आफै पनि त्यस क्षेत्रका जनतालाई कन्भिन्स गर्न लाग्छुँ ।” जनताको मत लिएर बीचैमा राजीनामा दिएपछि जनताप्रति धोका हुने अर्को जिज्ञासामा सांसद मानन्धरले जनताप्रति धोका नभई सम्मान हुने बताउनुभयो ।

“राष्ट्रिय राजनीतिमा र देशको समुचित विकासमा नेता गौतमको आवश्यकता चौतर्फी महशुस भइरहेका बेला मैले आफैले नेता गौतमलाई उपनिर्वाचनमार्फत सांसद बन्न प्रस्ताव गरेको हुँ, पार्टीले मेरो प्रस्तावअनुसार निर्णय गर्नेमा म विश्वस्त छुँ” मानन्धरले भन्नुभयो ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा वर्दिया १ बाट निर्वाचन लड्नुभएका नेता गौतम कांग्रेसका नेता सञ्जय गौतमबाट केही मतले पराजित हुनुभएको थियो । नेता गौतमलाई उपनिर्वाचन मार्फत संसद बनाउन पार्टीको यसअघिदेखिको प्रयास काठमाडौं ७ मा आएर सार्थक रुप लिने संसद मानन्धरले विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया