मैले देखेको थारु दशैं

मुना चौधरी

खेतमा धानका बोटहरू हलक्कै बढेका हुन्थे। जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको सुगन्ध आहा ! कति मिठो लाग्थ्यो । धानको बाला वतासमा बयेली खेल्न थालेपछि दशैँ आउन लाग्यो भन्ने भान हुन्थ्यो ।

एका बिहानै आमाले गोबरले आँगन लिप्थिन् । कमेरोले घरको भित्ता र ओसरा (पिँढी) पोत्दै भन्थिन्, आजबाट दशहरा सुरू हुन्छ । अनि थाहा पाउँथेँ आजबाट दशैँ सुरु हुन्छ भनेर । बेलुकी तीन, चार बजेतिर टर्चको काम नलाग्ने पुरानो ब्याट्री आमाले ढुंगाले फुटाउथिन् । ब्याट्रीबाट कालो धुलो निस्किन्थ्यो । त्यो कालो धुलो एउटा कचौरामा राख्थिन् । अर्को कचौरामा सेतो चुनको धुलो राख्थिन् । छुट्टा छुट्टै कचौरामा राखिएको सेतो र कालो धुलोमा पानी हालेर झोल बनाउँथिन् । कप्टेरोले घर र गुहालीको ढोकाको छेउमा दुईटै भित्तामा चुन र कारीख (कालो धुलो) ले टाउको,आखाँ र कपाल, हात, खुट्टा भएको दुई जुईओटा साना साना मूर्ति बनाउँथिन् जसलाई डाइन( जोगीन भनिन्थ्यो ।

डाइन जोगीनको मूर्ति बनाइसकेपछि सुतीको सानो कपडामा थोरै हिंग राखेर सियो धागोले त्यो कपडालाई सिलाएर सानो जन्तर जस्तो बनाउँथिन्। त्यो जन्तर र लसुनको दुई तिनओटा बिजुला धागोमा उनेर मेरो घँटीमा बाँधिदिन्थिन् । यो माला दशैँभरि लगाउनुपर्छ । यो माला लगााइराखे भने नराम्रो शक्ति र बोक्सीहरूले कुनै टुनामुना र जादुमन्तर तँ माथि गर्न सक्दैन । भन्थिन् ।

बेलुकी अँध्यारो हुनुभन्दा अगाडि ठुलो मादल बोकेर चमार सबैको घर, घरमा मादल बजाउन आइपुग्थ्यो । जसलाई ढोल बजाउनु पनि भनिन्थ्यो । ढोल बजाए भने नराम्रो शक्ति घरमा प्रवेश गर्न पाउँदैन । ढोलको आवाज सुनेर काल, नराम्रो शक्ति र वर्षा याममा निस्केका सर्पहरू टाढा भाग्छन् । आमाले भन्थिन् । दशैँको पहिलो दिन कलशमा पानी भरेर सबैले गोसाइ (देउता) घरमा राख्थे । दशैँभरि बाहुनलाई बोलाएर कलशमा पूजा गर्न लगाउँथे ।

अरु वेला हामी टोलभरिका केटाकेटीहरू राति अवेलासम्म डगहरमा खेलिरहन्थ्यौँ तर दशैँ परेको दिनदेखि बेलुकी हुने बित्तिकै हाम्रा आमा, बुबा हामीलाई खेल्न दिँदैनथे । हामीलाई डाक्दै घर बोलाउँथे । नसुनेझैँ गरेर खेलिराखेको वेला हामीलाई लिन आउँथे । जबरजस्ती हाम्रा हात तानेर घर लग्थे । बोक्सीहरूले टुनामुना गरिदिन्छन् भनेर हामीलाई खेल्न दिँदैनथे । खेल्न नपाउँदा हाम्रो मन खिन्न हुन्थ्यो । अर्कोतिर बोक्सीले केही गर्लान् कि भनेर डर पनि लाग्थ्यो । त्यतिखेर सोच्थेँ बोक्सी हुन्छन् र ! यदि हुन्छन भने कस्ता देखिन्छन् !

सन्तान नहुने र ठुलो कष्टबाट मुक्त भए भने दुर्गााको मूर्ति बनाउने भाकल मान्छेहरूले गर्थे । इच्छा पुरा भएपछि दशैँमा भाकल गरेको मान्छेहरूले दुर्गााको मूर्ति गुहालीमा बनाउथे ।

गाउभरिका मानिस आ(आफना घरमा घट्स्थापना, पन्चमी, सप्तमी, अष्टमी र दशमीको दिन धामी, झाक्रीलाई बोलाएर घरमा देउता छ कि छैन भनेर देउता घरमा बिहान र बेलुकी पूजा गर्न लगाउँथे । जसलाई घर जगाउनु पन भनिन्छ । यही दिन गाउँ सुनसान भएपछि मध्य रातमा गाउँभन्द पर एकान्तमा बोक्सी आइमाईहरू टाउको र हातमा बलेको दीयो बोकेर नांगै नाच्छन् । यही दिन जेठो सन्तान र सिरीमानको बली चढाएर आइमाईहरू बोक्सी सिक्छन् । बोक्सीको मन्त्र अढाइ अछरको मात्र हुन्छ रेू भनेर आमाले भन्थिन् दशैँमा दुर्गाको दशओटै द्वार खुल्ला हुन्छ । माता दुर्गा र काली दुवै जना डाइन (बोक्सी) हुन्छन् । त्यसैले दशैँमा डाइनहरूलाई यिनीहरूले रोक्न सक्दैनन् । सबै द्वार खुल्ला भएकोले नराम्रो शक्ति र डाइनहरूले आँखा लाउन नसकोस् भनेर घर र गुहालीको भित्तामा कारीख चुनको डाइजोगीन बनाउँछन र केटाकेटीको घाटीमा हिंगको जन्तर र लसुनको बिजुलो घँटीमा बाँधिदिन्छन् । आमाको कुरा सुनेर मलाई आचम्म लाग्थ्यो ।

सन्तान नहुने र ठुलो कष्टबाट मुक्त भए भने दुर्गााको मूर्ति बनाउने भाकल मान्छेहरूले गर्थे । इच्छा पुरा भएपछि दशैँमा भाकल गरेको मान्छेहरूले दुर्गााको मूर्ति गुहालीमा बनाउथे । गाउँमा मूर्ति बनाएपिछ हामी केटाकेटीलाई झन रमाईलो लाग्थ्यो किनकि मेला प्रत्येक दिन लाग्थ्यो । बिहान बेलुकी भजन कीर्तनले गाउँ नै गुन्जयमान हुन्थ्यो ।

दशैँको सातौँ दिन अर्थात फुलपातीको दिन आमाले बिहानै घट्स्थापनाको दिन बनाएको डाइनजोगीनको मूर्तिलाई खुर्पाले खौरेर मेटाउँथिन् र भिता पोत्थिन् । एउटा कचौरामा अरवा चामल भिज्न दिएकी हुन्थिन् । चामल भिजिसकेपछ सिलौटामा लोरोहोले भिजेको चामल पिस्थिन् । पिसेको चामल गिलो पिठो बन्थ्यो । गिलो पिठो थालमा राख्थिन् । त्यो पिठोमा कान्छी औँला र कान्छी औँलाको मुनिको हत्केला पिठोमा चोप्दै डाइनजोगीनको मूर्ति मेटाएको ठाउँमा घरको ढोकोको दुवैैपट्टि पिठोमा हात डुबाउँदै भित्तामा राख्थिन् । भित्तामा पिठोबाट एक किसिमको बुट्टा निस्किन्थ्यो । त्यो बुट्टामाथि आमाले सिन्दुरको टीका लगाइदिन्थिन् । सेतो बुट्टामाथि रातो सिन्दुर झन चम्किलो र राम्रो देखिन्थ्यो । भित्तामा कोरिएको बुट्टाले घर,आँगन झन सुन्दर र बेउली झैँ सजिसजाउ देखिन्थ्यो ।

फुलपातीकै दिन निसन्तान दम्पत्तिहरू बेलुकी मूर्ति बनाएको ठाउँमा आउँथे । धामीझाक्री र गाउँका आमाहरू मूर्तिको छेउमा बसेर थरिथरिका भजन गाउँथे । धामीले केके मन्त्र उच्चारण गर्दै उभिरहेको दुर्गााको मूर्तिको हातमा रातो गुलाबको फुल राखिदिन्थ्यो । सन्तान नहुने दम्पतिलाई दुर्गााको मूर्तिको हातमुनि आँचल फैलाएर बस्न लगााउँथ्यो । मिठो स्वरमा नरोकिकन आमा र धामीहरू कीर्तन गाइरहन्थे । मूर्तिको हातबाट निसन्तान दम्पतिको आँचलमा फुल नझरून्जेलसम्म कीर्तन गाइरहन्थे । फूल आँचलमा झरेपछि बल्ल कीर्तन गाउन बन्द गर्थे । कीर्तनको धून बिलापमय हुन्थ्यो ।

धामीले पहिलेकै तरिकाले फेरि मन्त्र जाप गर्दै मूर्तिको हातमा फूल राख्थ्यो र अर्को निसन्तान दम्पतिलाई उस्तै तरिकाले मूर्तिको छेउमा बस्न लगाउँथ्यो। कसैको आँचलमा फूल चाँडै झर्थ्यो भने कसैकोमा ढिला झर्थ्यो, कसैको आँचलमा झर्दैझर्दैन्थ्यो । फूल आँचलमा झर्ने दम्पति चाँडै बुबा आमा बन्ने अनुमान गरिन्थ्यो भने फुल आँचलमा नझर्ने दम्पतिको सन्तान नहुने विश्वास गरिन्थ्यो । आमा कीर्तन गाउन गएको वेला आमाको छेउमा बसेर सबै दृश्य म हेरिरहन्थेँ र सुनिरहन्थेँ ।

तपाईको प्रतिक्रिया