बोक्साको आरोपमा एक थारु बृद्धलाई कुटपिट, छोराले दिए प्रहरीमा उजुरी


बर्दिया, कात्तिक २ गते । ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय एक वृद्ध कुकुरा थारुलाई बोक्साको आरोपमा गए राति सोही ठाउँका एक समूहले कुटपिट गरेको छ ।

सोही गाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले मरणासन्न हुनेगरी ती बृढलाई कुटपिट गरेको हो ।

गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका रुपमा परिचित कुकुरा थारुलाई आफ्नै गोत्र पर्ने नैपाल थारुले साँझपख घरमा बोलाएर बोक्सा भएको भन्दै कुटपिट गरेको पीडितका छोरा श्रीराम थारुले बताउनुभयो ।

श्रीरामका अनुसार नैपाल थारुले आफ्नो घरमा देउताको अगाडि अखोर्या (गुरुवाद्वारा मन्त्र उच्चारण गरी व्यक्तिको शरीरमा देउता चढाएर काँप्दै मादलको तालमा नाच्ने खेल) खेल्न बेलाएर लगेका थिए । गुरुवाले मन्त्र उच्चारण गर्दै अन्य व्यक्तिहरु काँप्दै नाच्न थालेको तर कुकुरा नकापेपछि उनले आफूमा मन्त्र गरेर देउता पस्नबाट रोकेको भन्दै बोक्सा भएको आरोप लगाउँदै कुटपिट गरेको छोरा श्रीरामले बताउनुभयो ।

कुकुरा थारु वृद्ध भएका कारण अखोर्या खेल्न मन गरेका थिएनन् । तर गाउँका ती समुहले बोक्सो भन्दै बेतको लट्ठी, मुक्काले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । कुटपिटबाट कुकुराको टाउकामा घाउ भएको छ । मुख सुन्निएको छ, कम्मर र ढाडमा लट्ठीको निलो दाम परेको छोरा श्रीरामले बताउनुभयो ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय भुरीगाउँमा छोरा श्रीरामले उजुरी दिएपछि प्रहरीले घटनाबारे छानविन गरिरहेको छ । दशैंमा थारु गाउँमा अखर्या खेल्ने चलन छ । त्यसमा गुरुवाले मन्त्रको सहायताले अखर्या खेलाउने गर्छन् ।

तपाईको प्रतिक्रिया